Nepal Purbadhar

आजदेखि सञ्चालनमा आउँदै नागढुंगा-सिस्नेखोला सुरुङमार्ग, ३८ महिनामा सक्ने लक्ष्य, सात वर्षमा तयार


काठमाडौं । काठमाडौं र धादिङलाई जोड्ने गरी निर्माण गरिएको नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आजदेखि सञ्चालनमा आउँदैछ। करिब २९ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको यो सुरुङमार्ग शिलान्यास भएको करिब सात वर्षपछि सञ्चालनमा आउन लागेको हो।

नागढुंगा सुरुङमार्ग निर्माणको शिलान्यास २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। प्रारम्भिक सम्झौताअनुसार ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, कोभिड-१९ महामारी, मुआब्जा विवादलगायत कारण आयोजना निर्माणमा ढिलाइ भयो।

निर्माण सुरु भएको करिब चार वर्षपछि २०८० साउन २२ गते सुरुङमार्गको ‘रेस्क्यु टनेल’को ब्रेक थ्रु भएको थियो। तत्कालीन भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वाला, भौतिक पूर्वाधार राज्यमन्त्री नन्दा चपाईं, नेपालका लागि जापानका राजदूत किकुता युताका तथा जाइका प्रतिनिधिको उपस्थितिमा रेस्क्यु टनेलको ब्रेक थ्रु गरिएको थियो।

रेस्क्यु टनेलको ब्रेक थ्रु हुँदा मुख्य सुरुङको ८२ प्रतिशत निर्माण सम्पन्न भइसकेको थियो। त्यतिबेला मुख्य सुरुङतर्फ ५०६ मिटर खन्न बाँकी थियो।

रेस्क्यु टनेल ब्रेक थ्रु भएको करिब १० महिनापछि मुख्य सुरुङको पनि ब्रेक थ्रु गरिएको थियो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८१ असार ३ गते मुख्य सुरुङको ब्रेक थ्रु गरेका थिए।

मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर छ भने आपतकालीन अर्थात् रेस्क्यु सुरुङको लम्बाइ २.५५७ किलोमिटर छ।

२९ अर्ब रुपैयाँभन्दा बढी लगानी

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग जापान सरकार र नेपाल सरकारको लगानीमा निर्माण भएको हो। आयोजनाका लागि जापान सरकारको १६ अर्ब ५० करोड रुपैयाँ र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी गर्ने गरी सम्झौता भएको थियो।

निर्माणका क्रममा लागत बढेपछि जापानले थप ५ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराएको थियो। आयोजनाको निर्माण ठेक्का जापानको हाज्मा आन्दो कर्पोरेसनले पाएको थियो।

चरणबद्ध रूपमा सवारीसाधनलाई प्रवेश

सुरुङमार्ग आजदेखि सञ्चालनमा आए पनि सबै प्रकारका सवारीसाधनले तत्काल प्रवेश पाउने छैनन्। पहिलो दिन आपतकालीन प्रयोजनमा प्रयोग हुने सवारीसाधनलाई सुरुङ प्रयोग गर्न दिइनेछ। त्यसपछि चरणबद्ध रूपमा निजी तथा सार्वजनिक सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न दिइनेछ।

पैदलयात्री, दुईपाङ्ग्रे सवारीसाधन तथा पेट्रोल, डिजेललगायत प्रज्वलनशील पदार्थ ढुवानी गर्ने सवारीसाधनलाई सुरुङभित्र प्रवेश गर्न दिइने छैन।

सुरुङ प्रयोग गर्न शुल्क लाग्ने

नागढुंगा सुरुङमार्ग प्रयोग निःशुल्क हुने छैन। काठमाडौं भित्रिँदा र बाहिरिँदा सवारीसाधनअनुसार फरक-फरक शुल्क निर्धारण गरिएको छ।

कार तथा भ्यानले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनीबस तथा टिपरले भित्रिँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्नेछ।

त्यस्तै, बस तथा ट्रकले भित्रिँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ। हेभी ट्रकले काठमाडौं भित्रिँदा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क तिर्नुपर्नेछ।

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं प्रवेश गर्ने मुख्य नाकामा हुने सवारी चाप घट्ने र यात्रा समय छोटिने अपेक्षा गरिएको छ।


Read Previous

नागढुंगा सुरुङमार्ग पीडित संघर्ष समितिको धर्नामा प्रहरी हस्तक्षेप

Read Next

पूर्वाधार विकासमन्त्री लम्सालद्वारा नेपालकै पहिलो आधुनिक सुरुङमार्ग नागढुंगा-सिस्नेखोला उद्घाटन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar