Nepal Purbadhar

एमसीसी अन्तर्गतको लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माण सुरु


काठमाडौं । एमसीए–नेपालले लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माण सुरु गरेको छ। सिन्धुपाल्चोक जिल्लाबाट मङ्सिर ८ गतेदेखि प्रसारण लाइन निर्माणको काम प्रारम्भ गरिएको हो।

एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत विद्युत् प्रसारण आयोजनाले निर्माण गर्ने ३१५ किलोमिटर लामो प्रसारण लाइनमध्ये यो खण्ड ११७ किलोमिटरको हुनेछ। लप्सीफेदी, रातमाटे र न्यू हेटौँडा सबस्टेशनलाई जोड्ने उक्त प्रसारण लाइन ४०० केभी क्षमताको दोहोरो सर्किटयुक्त हुनेछ।

यस खण्डअन्तर्गत काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र मकवानपुर गरी पाँच जिल्लामा ३०३ वटा प्रसारण टावर निर्माण गरिनेछ।

प्रसारण लाइन निर्माण सम्पन्न भएपछि नेपालको विद्युत् प्रसारण प्रणाली थप सुदृढ हुने अपेक्षा गरिएको छ। यसले मुलुकको ऊर्जा सुरक्षा सबलीकरण गर्नुका साथै विभिन्न आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा जोड्न महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ।

एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण भइरहेको यो प्रसारण सञ्जाललाई नेपालको विद्युत् पूर्वाधार विकास र ऊर्जा प्रणालीको क्षमता विस्तारका दृष्टिले महत्त्वपूर्ण आयोजनाका रूपमा लिइएको छ।


Read Previous

मौसम खुलेसँगै नमोबुद्धबाट देखिए मनमोहक हिमशृङ्खला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar