Nepal Purbadhar

बेनी-जोमसोम सडक खुल्यो, सवारीसाधनको चापबढ्दा पाँच सयभन्दा बढी मालवाहक गाडी बाटोमै अलपत्र


म्याग्दी। बाढीपहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग निर्माण गरेर सवारीसाधन सञ्चालन गरिए पनि यात्रु र चालकको सास्ती हटेको छैन। साँघुरो, हिलाम्मे र जोखिमपूर्ण सडकमा सवारीसाधनको चाप बढेपछि घण्टौँसम्म जाम हुने गरेको छ।

असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोले कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी र मुस्ताङ जोड्ने सडकका विभिन्न खण्डमा क्षति पुर्‍याएको थियो। नदीले कटान गरेका स्थानमा अस्थायी एकतर्फी मार्ग निर्माण र पहिरो पन्छाएपछि बिहीबार साँझदेखि सवारीसाधन सञ्चालनमा आएका हुन्।

सडक सञ्चालनमा आए पनि चीनको कोरला नाकाबाट भन्सार जाँचपास गराएर आएका करिब ५०० मालवाहक कन्टेनर तथा ट्रक गन्तव्यमा पुग्न पर्खिरहेका छन्। बेनीबाट मुस्ताङ जाने सवारीसाधनको चापसमेत बढ्दा लामो जाम हुने गरेको छ। चीनबाट आयात गरिएका कपडा, खाद्यान्न र फलफूल बोकेका गाडी लामो समय रोकिँदा केही फलफूल कुहिन थालेका छन्।

बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार सडक मर्मत भइरहेको समयमा अत्यधिक सवारीसाधन सञ्चालन हुँदा काम प्रभावित भएको छ। प्रारम्भिक मर्मत गरिएको सडकमा हिलो बढ्दा तिल्केनीचौरलगायत स्थानमा गाडी फस्ने समस्या देखिएको उनले बताए।

सडक आयोजनाले कुनौटा-पोखरेबगर क्षेत्रको करिब १० किलोमिटर सडक सुधारलाई तीव्रता दिएको छ। असोज २६ गतेभित्र मर्मत सकेर आवागमन सहज बनाउने लक्ष्य राखिएको आयोजनाका प्राविधिक विनोद पौडेलले बताए।

लामो समय सडक अवरुद्ध हुँदा मुस्ताङमा खाद्यान्न र खाना पकाउने ग्यासको आपूर्तिमा समस्या हुनुका साथै विद्युत्, फोन र इन्टरनेट सेवासमेत प्रभावित भएका छन्। रसुवागढी नाका बन्द रहेको र तातोपानीबाट अपेक्षाअनुसार व्यापारिक आवागमन हुन नसकेको अवस्थामा कोरला नाका चीनसँगको व्यापारका लागि महत्त्वपूर्ण विकल्प बनेको छ। तर, बेनी-जोमसोम सडक पूर्ण रूपमा सुधार नभएसम्म व्यापार र यात्रामा सहजता आउन कठिन देखिएको छ।


Read Previous

बूढीगण्डकी बाढी: पाँच जना बेपत्ता, उद्धारमा ४३७ सुरक्षाकर्मी परिचालन, मनास्लु हिंडेका पर्यटक अलपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar