
गोरखा। गोरखाको बूढीगण्डकी नदीमा आएको भीषण बाढीले जनधनमा क्षति पुर्याउनुका साथै मनास्लु संरक्षण क्षेत्रमा पदयात्रामा गएका विदेशी पर्यटकलाई बीच बाटोमै रोकेको छ। बाढीमा परी पाँच जना बेपत्ता भएका छन् भने विभिन्न स्थानका घर, पुल, विद्युत् खम्बा र दूरसञ्चार संरचनामा क्षति पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुब्री गाउँपालिका-६ लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खसेपछि बूढीगण्डकीमा बाढी आएको थियो। बाढीमा परी चुमनुब्री गाउँपालिका-६ चुम्चेतको उङ्गिलुङका भेडीगोठमा रहेका दुई महिला र तीन पुरुष बेपत्ता भएका हुन्।
बाढीले धार्चे गाउँपालिका-३ सल्लेरीस्थित निर्माणाधीन टाइम्स ऊर्जा प्रालि र आसपासका सातदेखि आठ ओटा घर बगाएको छ। सोही क्षेत्रमा रहेका कम्पनीका १२ जना कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको प्राधिकरणले जनाएको छ।
आरुघाट गाउँपालिका-९ नयाँपुलमा गोरखा र धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भाग बगाएको छ। त्यस्तै, आरुघाट गाउँपालिका-२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल तथा चुमनुब्री-३ न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल पनि बाढीले बगाएको छ। धार्चे गाउँपालिका-५ माछीखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुलमा समेत क्षति पुगेको छ।
माछीखोलाको तल्लो बस्तीमा बाढी पसेपछि २० देखि २२ ओटा घर जोखिममा परेका छन्। बाढीले बूढीगण्डकी जलविद्युत् आयोजनाको ३४१ मेगावाट क्षमताको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरणसमेत बगाएको छ। दुई ओटा टेलिफोन टावर र ५० ओटा विद्युत्का खम्बामा पनि क्षति पुगेको प्राधिकरणले जनाएको छ।
मनास्लु हिंडेका पर्यटक अलपत्र
बाढीले मनास्लु संरक्षण क्षेत्र जाने मुख्य पदमार्ग र झोलुङ्गे पुलमा क्षति पुर्याएपछि पदयात्रामा रहेका विदेशी पर्यटक गन्तव्यमा पुग्न नसकी बीचैमा रोकिएका छन्।
मनास्लु संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत भुवनराज ओझाका अनुसार संरक्षण क्षेत्रको प्रवेशद्वार मानिने चुमनुब्री गाउँपालिका-३ जगतमा १०० भन्दा बढी विदेशी पर्यटक रोकिएका छन्। शनिबार ९८ जना विदेशी पर्यटक संरक्षण क्षेत्रमा प्रवेश गरेका थिए। चुमनुब्री-६ लोक्पामा १७ जना र चुम उपत्यकाको छेकम्पारमा ४० जना पर्यटक रहेको उनले जानकारी दिए।
बै पर्यटक सुरक्षित स्थानमा रहेको र उनीहरूको उद्धारका लागि हेलिकप्टर परिचालन गर्न पहल भइरहेको ओझाले बताए। पर्यटकसँगै भरिया र पथप्रदर्शक पनि बाटोमै रोकिएकाले उनीहरूलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन स्थानीय तह र सुरक्षा निकायसँग समन्वय भइरहेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए। मुख्य पर्यटकीय याममा प्राकृतिक विपद् आएपछि पर्यटन क्षेत्रमा समेत असर परेको उनले बताए।
उद्धारमा ४३७ सुरक्षाकर्मी परिचालन
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ४३७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार नेपाली सेनाका चार ओटा हेलिकप्टर उद्धार कार्यमा खटिएका छन्। हेलिकप्टरमार्फत हालसम्म ४७ जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको उनले बताए।
बाढीको सूचना प्राप्त हुनासाथ नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय आरुघाटबाट २५ जना प्रहरी खटिएका छन्।
सम्भावित जोखिमबारे गोरखा, धादिङ र चितवनको बेनीघाटसम्मका बासिन्दालाई एसएमएसमार्फत पूर्वसूचना पठाइएको थियो। साथै गोरखा, धादिङ, तनहुँ, चितवन तथा नवलपरासी

