
काभ्रेपलाञ्चोक। गत वर्षको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्ड पुनर्निर्माणपछि सञ्चालनमा आएको छ। दसैँमा यात्रुहरूको आवागमन सहज बनाउन सडक मर्मत र सम्भावित अवरोध हटाउने तयारी तीव्र पारिएको छ।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार रोशी खोलामा बनाइएको अस्थायी डाइभर्सन बाढीले बगाएपछि हाल पुनर्निर्मित सडकबाट सवारीसाधन सञ्चालन भइरहेका छन्। केही साँघुरा तथा जोखिमयुक्त स्थानमा भने डाइभर्सनमार्फत दुईतर्फी आवागमन गराइएको छ।
कार्यालयले वर्षाका कारण लेदो वा पहिरो खसेर सडक अवरुद्ध भए आवश्यक उपकरण तयारी अवस्थामा राखेको जनाएको छ। सम्भव भएसम्म आधा घण्टाभित्रै सडक खुलाउने लक्ष्यसहित दसैँ केन्द्रित मर्मत भइरहेको छ।
गत वर्ष असोजको बाढीपहिरोले काभ्रेपलाञ्चोकतर्फ करिब ३० किलोमिटर सडकमा क्षति पुर्याएको थियो। क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि सरकारले ८ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति दिएको छ। पुनर्निर्माणपछि राजमार्गलाई दुई लेनमा स्तरोन्नति गर्ने र पाँच ओटा पुललाई समेत दुई लेनमा विस्तार गर्ने योजना छ।

