
गोरखा, २५ असोज – गोरखाको चुमनुब्री गाउँपालिका-६ स्थित उङगिलुङ खोलाबाट बूढीगण्डकी नदीमा आएको बाढीले चार जना सम्पर्कविहीन भएका छन्। बाढीले खोला किनारमा रहेका चार ओटा गोठ र त्यहाँ बाँधिएका १५ ओटा याक तथा नाकसमेत बगाएको छ।
राष्ट्रिय समाचार समिति (रासस)का अनुसार गोठमा रहेका पशुको हेरचाहमा खटिएका चार जना सम्पर्कविहीन भएका हुन्। उनीहरूको अवस्था अझै अज्ञात छ।
बाढीले गोरखाका विभिन्न स्थानमा भौतिक संरचनामा समेत क्षति पुर्याएको छ। सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार धार्चे गाउँपालिका जोड्ने माछीखोला पुल बगाएको छ। माछीखोला बजारमा समेत क्षति पुगेको छ।
त्यस्तै, आरुघाट गाउँपालिकाको सोती र मान्बु जोड्ने पुल पनि बाढीले बगाएको छ।
बाढी प्रभावित क्षेत्रमा सतर्क रहन गृहमन्त्रीको आग्रह
बूढीगण्डकी नदीमा आएको बाढीपछि गृहमन्त्री सुधन गुरुङले नदी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले सिर्दिबास, जगत, सल्लेरी, खोर्लाबेँसी, माछीखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा स्थानान्तरण हुन अनुरोध गरेका छन्।
गृहमन्त्री गुरुङका अनुसार चुमनुब्री गाउँपालिका-३ मा न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगेको छ भने घट्टेखोला क्षेत्रमा केही घरमा लेदोसहितको पानी पसेको छ। नदीको बहाव निरन्तर बढिरहेको अवस्थाप्रति उनले चिन्ता व्यक्त गरेका छन्।
उनले घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनलाई उद्धार तथा राहत कार्यमा परिचालन गरिएको र आवश्यकताअनुसार हेलिकप्टरसमेत परिचालन गरिएको बताएका छन्।
गृहमन्त्रीले प्रभावित क्षेत्रका बासिन्दालाई धैर्य राख्न र सुरक्षित रहन आग्रह गर्दै आपत्कालीन सहयोग आवश्यक परे गृह मन्त्रालयमा सम्पर्क गर्न अनुरोध गरेका छन्।
बाढीबाट भएको क्षति र सम्पर्कविहीन चार जनाको अवस्थाबारे थप विवरण आउन बाँकी छ।

