
गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकामा बूढीगण्डकी नदीमा आएको भीषण बाढीले ३५ घर बगाएको छ। बाढीले पैयू र बगर गाउँका घर बगाउनुका साथै दोभान, घट्टेखोला, जगत् र सल्लेरी क्षेत्रमा व्यापक क्षति पुर्याएको छ।
चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार आइतबार बिहान करिब ४ बजेतिर बाढी बस्तीमा पसेपछि स्थानीयवासी ज्यान जोगाउन सुरक्षित स्थानतर्फ भागेका थिए।
बाढीबाट चुमनुब्री गाउँपालिका–३ का बजार क्षेत्रमा समेत ठूलो क्षति पुगेको उनले बताइन्। बाढीले घर तथा भौतिक संरचनामा क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा जोखिम बढेको छ।
बाढीको जोखिमलाई ध्यानमा राख्दै गोरखा प्रहरीले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलका अनुसार सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको छ।
प्रारम्भिक विवरणअनुसार बाढीबाट हालसम्म मानवीय क्षति भएको जानकारी प्राप्त भएको छैन। यद्यपि, भौतिक क्षतिको विस्तृत विवरण संकलन हुन बाँकी छ।
बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाका विभिन्न बस्ती प्रभावित बनाएको छ। नदीको बहाव र सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

