Nepal Purbadhar

नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित


नारायणगढ। नारायणी नदीमा आएको बाढीले चितवनको नारायणगढस्थित नदी किनारको चौरलाई बगरमा परिणत गरे पनि समुद्री किनारको स्वरूपमा निर्माण गरिएको ‘सी बिच’ ढाँचाको तटबन्ध सुरक्षित रहेको छ। असोज ११ गते आएको बाढीले किनारमा बालुवा र ढुङ्गा थुपारे पनि तटबन्धमा ठूलो क्षति पुगेको छैन।

भरतपुर महानगरपालिका-१ स्थित नारायणी पुलको उत्तरतर्फ निर्माण गरिएको उक्त तटबन्धले नदीको बहाव नियन्त्रण गर्न र नारायणगढ बजारतर्फ नदी कटानको जोखिम कम गर्न भूमिका खेलेको सिँचाइ तथा जलस्रोत आयोजना भरतपुरले जनाएको छ।

आयोजनाका सूचना अधिकारी इन्जिनियर सागर पौडेलका अनुसार ६४० मिटर लामो तटबन्ध निर्माण विसं २०७९ पुस ५ गते सुरू गरी विसं २०८० जेठ १९ गते सम्पन्न गरिएको थियो। नारायणी नदी किनारको चौरलाई संरक्षण गर्दै नदी कटान रोक्ने र क्षेत्रलाई आकर्षक बनाउने उद्देश्यले तटबन्ध निर्माण गरिएको उनले बताए।

तटबन्ध निर्माण गरिएको क्षेत्र सुरक्षित रहे पनि माथिल्लो चौरमा बाढीले बालुवा र ढुङ्गा थुपार्दा बगरमा परिणत भएको पौडेलले बताए। बाढीपछि उक्त क्षेत्रमा आवतजावत गर्नसमेत कठिन भएको छ। यद्यपि तटबन्धको माथिल्लो भागमा रहेको करिडोरमा मानिसहरू टहलिने र ठेलामा व्यापार गर्नेहरूको चहलपहल जारी छ।

पौडेलका अनुसार तटबन्धले नारायणी नदीको बहावलाई हाल कायम रहेको दिशामा राख्न र नदीको धार नारायणगढ बजारतर्फ मोडिनबाट रोक्न सहयोग गरेको छ। यसबाट बजार क्षेत्र, आसपासका बस्ती, सडक, भौतिक संरचना तथा जग्गालाई नदी कटान र बाढीजन्य जोखिमबाट संरक्षण गर्न योगदान पुगेको छ।

“सी बिच ढाँचाको तटबन्ध नभएको भए यो क्षेत्र पूरै बगरमा परिणत हुन सक्थ्यो। तटबन्धका कारण किनारको चौरमा माटो भर्न र सम्याउन पनि सहज हुने भएको छ,” पौडेलले बताए।

उनका अनुसार तटबन्ध निर्माण नभएको अवस्थामा नारायणी नदीले धार परिवर्तन गरी चितवनतर्फ, विशेषगरी नारायणगढ बजार आसपासका क्षेत्रमा कटान र बाढीको जोखिम बढाउन सक्ने सम्भावना थियो। तटबन्धले नदीको धार नियन्त्रण गर्नुका साथै मानव बस्ती, बजार, सडक तथा अन्य पूर्वाधारलाई नदी कटानबाट जोगाउन सहयोग गरेको उनले बताए।

१७ करोड ५९ लाख रुपैयाँ खर्च

कार्यालयका अनुसार ‘नारायणी रिभर बिच प्रोटेक्सन वक्र्स’ आयोजनाअन्तर्गत १७ करोड ५९ लाख रुपैयाँ खर्च गरेर तटबन्ध निर्माण गरिएको हो। आयोजनाअन्तर्गत आरसीसीका सिँढी निर्माण गर्नुका साथै अगाडिको भागमा ठूला ढुङ्गा प्रयोग गरी नदी किनार संरक्षण गरिएको पौडेलले बताए।

नारायणी नदी किनारमा निर्माण गरिएको ‘सी बिच’ क्षेत्रमा विभिन्न महोत्सव तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने गरेका छन्। बिहान र साँझ नदी किनारमा घुम्न तथा टहलिन जाने सर्वसाधारणको चहलपहल हुने गर्छ। साना ठेला तथा अन्य व्यापार व्यवसाय सञ्चालन गर्नेहरूका लागि पनि यो क्षेत्र आकर्षणको केन्द्र बनेको छ।

आयोजनाका अनुसार नारायणी पुलदेखि पश्चिमतर्फ चितवन क्षेत्रमा अधिकांश स्थानमा तटबन्ध निर्माण गरिएकाले यस वर्षको बाढीबाट ठूलो क्षति हुन पाएन।


Read Previous

शुल्क निर्धारण हुनु ऐतिहासिक, दर पुनरावलोकन गरि वैज्ञानिक र लगानीमैत्री बनाउन इप्पानको माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar