
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्डको ६८औँ बैठकले १०५.६२ मेगावाट क्षमताका दुई अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा २१ अर्ब १७ करोड रुपैयाँभन्दा बढी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकले ५८.९ मेगावाट क्षमताको नार खोला अर्धजलाशययुक्त जलविद्युत् परियोजनामा १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रुपैयाँ र ४६.७२ मेगावाट क्षमताको सानी भेरी-३ अर्धजलाशययुक्त जलविद्युत् परियोजनामा १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रुपैयाँ लगानी स्वीकृत गर्ने निर्णय गरेको हो ।
यी दुई आयोजनामा कुल २१ अर्ब १७ करोड ३८ लाख ५९ हजार रुपैयाँ लगानी स्वीकृत भएको छ । दुवै आयोजना सञ्चालनमा आएपछि राष्ट्रिय विद्युत् प्रणालीमा थप ऊर्जा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बैठकले ठूला जलविद्युत् आयोजनाको निर्माण र व्यावसायिक उत्पादनलाई अघि बढाउने विषयमा पनि निर्णय गरेको छ । ९०० मेगावाट क्षमताको अरुण-३ जलविद्युत् परियोजनाले सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन सुरू गर्ने निर्णय बैठकले गरेको छ ।
त्यस्तै, ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाका सम्बन्धमा परियोजना विकास सम्झौताको प्रावधानअनुसार तत्काल निर्माण अघि बढाउन आवश्यक सहजीकरण गर्ने निर्णय भएको छ ।
बैठकले स्वीकृत परियोजनाको कार्यान्वयन र लगानीकर्तालाई प्रदान गरिने सेवामा सहजीकरण गर्न लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई आवश्यक अधिकार प्रत्यायोजन गर्ने निर्णयसमेत गरेको छ । यसबाट परियोजनाको कार्यान्वयनलाई प्रभावकारी बनाउने र लगानीकर्तालाई उपलब्ध गराइने सेवामा शीघ्रता ल्याउने अपेक्षा गरिएको छ ।
बोर्डले आफूले आह्वान नगरेका प्रस्तावलाई आवश्यकताअनुसार स्वीस च्यालेन्ज विधिबाट प्रतिस्पर्धा गराएर अघि बढाउन आवश्यक कानुनी व्यवस्था गर्न कार्यालयलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।
यसैगरी, कृत्रिम बुद्धिमत्ता (एआई) लगायत नवीनतम सूचना प्रविधिमा आधारित पूर्वाधार परियोजनाका लगानी प्रस्ताव प्राप्त भएमा तिनलाई प्राथमिकता दिने निर्णय भएको छ । यस्ता परियोजनाले नेपालको नवीकरणीय ऊर्जाको उपयोग, रोजगारी सिर्जना र आर्थिक विकासमा पुर्याउने योगदानलाई ध्यानमा राखेर परियोजना विकासलाई प्राथमिकता दिइने बोर्डले जनाएको छ ।
बैठकमा अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष डा. स्वर्णिम वाग्ले, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठ, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, मुख्यसचिव गोविन्दबहादुर कार्की, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत याङकी उक्यावलगायत बोर्डका सदस्य तथा उच्च अधिकारी सहभागी थिए ।

