Nepal Purbadhar

काठमाडौं उपत्यकामा शनिबार र आइतबार विद्युत् आपूर्ति प्रभावित हुन सक्ने, १३२ केभी प्रसारण लाइनको तार फेरिँदै


काठमाडौं। मातातीर्थ-स्युचाटार १३२ केभी प्रसारण लाइनको तार परिवर्तन गर्ने कामका कारण शनिबार र आइतबार काठमाडौं उपत्यकाका केही क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुन सक्ने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले पुरानो तार हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागेकाले असोज २४ गते शनिबार र २५ गते आइतबार विद्युत् आपूर्ति प्रभावित हुन सक्ने जनाएको छ ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित १३२ केभी प्रसारण लाइन स्तरोन्नति आयोजनाले मातातीर्थ-स्युचाटार १३२ केभी डबल सर्किट प्रसारण लाइनमा रहेको पुरानो कन्डक्टर परिवर्तन गरी उच्च क्षमताको एचटिएलएस कन्डक्टर जडान गर्न लागेको हो ।

उक्त कामका लागि दुवै दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म प्रसारण लाइन बन्द गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटमा करिब ४०० मिटर तार परिवर्तन गर्न बाँकी रहेको छ । पुरानो कम क्षमताको तारको सट्टा उच्च क्षमताको तार जडान गरेपछि प्रसारण लाइनको विद्युत् वहन क्षमता बढ्ने र काठमाडौं उपत्यकामा बढ्दो विद्युत् माग व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ ।

प्रसारण लाइन बन्द रहने अवधिमा मातातीर्थ, स्युचाटारलगायत सम्बन्धित सबस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा सेवा प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार निर्धारित समयभित्र काम सम्पन्न गर्ने गरी आवश्यक प्राविधिक तयारी गरिएको छ । तर, मौसम प्रतिकूल भएमा कामको तालिका परिवर्तन हुन सक्नेछ ।

प्राविधिक कार्यका कारण ग्राहकमा पर्न सक्ने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।


Read Previous

हुलाकलाई ‘सरकारी कुरियर सेवा’ बनाउने सरकारको योजना, पाँच व्यक्तिका तस्बिर अंकित टिकट जारी

Read Next

शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, प्रथम श्रेणीलाई ५० लाखसम्म सहुलियत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar