पोखरा। पोखरा महानगरपालिका-२८ माझथानबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा चार विद्यार्थी र एक सर्वसाधारण गरी पाँच जनाको मृत्यु भएको छ।
कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार दुर्घटनामा १९ जना घाइते भएका थिए। घाइतेमध्ये पाँच जनाको मृत्यु भएको हो।
ओख्ले भीर भन्ने स्थानबाट बस करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। मृत्यु हुने चार विद्यार्थी कक्षा ९ र १० मा अध्ययनरत थिए।
दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ। प्रहरीले घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।

