Nepal Purbadhar

मुहानमा क्षति हुँदा बागलुङ बजारमा खानेपानीको हाहाकार, दमकल र ट्याङ्करमार्फत बाँडिंदै


बागलुङ। बागलुङ बजारमा खानेपानीको हाहाकार भएपछि नगरपालिकाले दमकल र ट्याङ्करमार्फत पानी वितरण सुरू गरेको छ। बजारमा वितरण हुने मुख्य खानेपानीका पाइप पहिरो र बाढीले बगाएपछि पाँच दिनदेखि करिब ४ हजार ५ सय उपभोक्ता प्रभावित भएका छन्।

असोज ८ गते बागलुङ नगरपालिका-३ हनुमानमौवा छेउमा पहिरो खस्दा मुख्य खानेपानीको पाइपमा क्षति पुगेको हो। त्यसपछि बजारमा नियमित खानेपानी आपूर्ति हुन सकेको छैन।

नगरपालिकाले बिहीबार बिहानदेखि बजारका विभिन्न स्थानमा दमकल र ट्याङ्करमार्फत पानी पुर्‍याउन थालेको हो। वितरण गरिएको पानी खाना पकाउन र सरसफाइका लागि प्रयोग गर्न आग्रह गरिएको छ।

लिफ्टिङमार्फत काठेखोलाबाट ल्याइएको पानी कैलामपोखरी, सुल्डाँडा र मुश्यास्वाराको ट्याङ्कीमा पुर्‍याउने मुख्य पाइपमा पहिरोले क्षति पुर्‍याएको छ।

त्यस्तै, तित्याङ र भकुण्डेको सीमाबाट आउने रिठेखोलाको मुहान तथा काठेखोला गाउँपालिकास्थित भुँदीखोलाको मुहानबाट बजारतर्फ ल्याइएको पाइपमा समेत बाढीले क्षति पुर्‍याएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ।

मुख्य चार मुहानमा क्षति

बागलुङ बजारमा पानी आपूर्ति हुने मुख्य चार ओटा मुहानमा वर्षा र बाढीले ठूलो क्षति पुर्‍याएको छ। विभिन्न स्थानमा पाइप बाढीले बगाएपछि पानी आपूर्ति प्रभावित भएको हो।

रिठेखोलामा जडान गरिएको करिब ८० मिटर पाइप बाढीले बगाएको छ। अन्य स्थानमा समेत पाइप बगेको र कतिपय ठाउँमा मर्मत गर्नुपर्ने अवस्था रहेको खानेपानी संस्थाले जनाएको छ।

खानेपानीको नियमित आपूर्ति पुनः सञ्चालनका लागि क्षतिग्रस्त पाइप तथा संरचनाको मर्मत गर्नुपर्ने भएको छ। यसबीचमा बजारवासीलाई तत्कालको आवश्यकता पूरा गर्न नगरपालिकाले दमकल र ट्याङ्करमार्फत पानी वितरण गरिरहेको छ।

तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी


Read Previous

चितवनका ६ चोकमा धमाधम ट्राफिक लाइट जडान, दशैंअघि नै सञ्चालन गर्ने लक्ष्य

Read Next

मेरोअटो राइडको चौथो संस्करण असोज १६ गते, काठमाडौं-गोरखा राइड हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar