Nepal Purbadhar

प्युठानमा आज साँझदेखि विद्युत् आपूर्ति सुधार हुने, रोल्पा र रुकुममा मर्मत जारी

तस्बिर: सर्लाही, ११, असोज लगातारको वर्षापछि आइतबार डुबानमा परेकाे सर्लाहीको मलङ्गवा नगरपालिका–२,स्थितनेपाल विद्युत प्राधिकरण मलङ्गवा वितरण केन्द्रको सबस्टेशन । निकास नहुँदा वर्षातकाे पानीले सबस्टेसनकाे कन्ट्रोल प्यानल डुबाउँदा गएराति देखिनै यस क्षेत्रमा विद्युत अवरुद्ध भएको छ ।


काठमाडौं, ११ असोज । बाढीपहिरोका कारण अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्न नेपाल विद्युत् प्राधिकरणले विभिन्न प्रभावित जिल्लामा मर्मत तथा पुनःस्थापनाको काम तीव्र बनाएको छ।

प्राधिकरणका अनुसार अर्घाखाँचीबाट प्युठानतर्फ आपूर्ति हुने ३३ केभी लाइन आज साँझ ७ बजेसम्म सञ्चालनमा आउने सम्भावना छ। उक्त लाइन सञ्चालनमा आएपछि प्युठान सदरमुकामसहित जिल्लाका धेरै स्थानमा विद्युत् आपूर्ति पुनः सञ्चालन हुनेछ।

यसैगरी, लमही-झिम्रुक १३२ केभी प्रसारण लाइनअन्तर्गत दाङको मुर्कुटीमा चुडिएको कन्डक्टर पुनः तान्ने (Restringing) काम भइरहेको छ। उक्त क्षेत्रमा पानी परिरहेकाले मर्मत कार्यमा कठिनाइ भइरहेको प्राधिकरणले जनाएको छ।

उक्त १३२ केभी लाइन आज राति करिब १० बजेसम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। लाइन सञ्चालनमा आएपछि प्युठान जिल्लामा पूर्णरूपमा विद्युत् सेवा पुनःस्थापित हुनुका साथै रोल्पाको सदरमुकाम लिबाङसहित पूर्वी क्षेत्रमा समेत विद्युत् आपूर्ति सञ्चालन हुने अपेक्षा गरिएको छ।

रोल्पाको पश्चिम क्षेत्रमा थप क्षति

रोल्पाको पश्चिमी क्षेत्रमा पर्ने होलेरीतर्फ विद्युत् सेवा पुनःस्थापनाका लागि प्राविधिक टोली बिहानैदेखि परिचालन गरिएको छ।

प्राधिकरणका अनुसार एक स्थानमा पाँच स्प्यान कन्डक्टर पोलसहित ढलेको पाइएको छ। अन्य चार स्थानमा रुखले पोलसहित तार चुँडाएको पाइएको छ। ती स्थानमा मर्मत कार्य भइरहेको र भोलिसम्ममा विद्युत् सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ।

रोल्पाको थवाङतर्फ जाने विद्युत् लाइनमा भने तुलनात्मक रूपमा बढी क्षति पुगेको जनाइएको छ। बाटो अवरुद्ध भएकाले प्राविधिक टोलीलाई घटनास्थल पुग्न समय लागेको छ। उक्त क्षेत्रमा भएको क्षतिको पूर्ण विवरणसमेत प्राप्त हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ।

रुकुम पूर्वमा स्थानीय जलविद्युत्बाट आपूर्ति

रुकुम पूर्वमा सल्यान हुँदै गएको विद्युत् लाइन सल्यान वितरण केन्द्रअन्तर्गतको क्षेत्रमा अवरुद्ध भएको छ। पहिरोसँगै पोलहरू ढलेको बुझिएको र उक्त लाइन भोलिसम्ममा पुनःस्थापना गर्ने तयारी भइरहेको छ।

हाल रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा स्थानीय राप्ती हाइड्रोबाट विद्युत् आपूर्ति भइरहेको छ।

मधेशमा ७८ पोल र १४ ट्रान्सफर्मरमा क्षति

यसैबीच मधेश प्रादेशिक कार्यालयअन्तर्गत बाढी तथा वर्षाका कारण विद्युत् संरचनामा समेत क्षति पुगेको छ।

प्राधिकरणका अनुसार प्रदेशअन्तर्गत लो-टेन्सन (LT) र हाई-टेन्सन (HT) गरी ७८ ओटा पोल ढलेका छन् भने १४ ओटा वितरण ट्रान्सफर्मरमा क्षति पुगेको छ।

तीन ओटा वितरण सबस्टेसनमा पानी पसे पनि विद्युत् आपूर्ति बन्द नगरी पानी निकाल्ने (Dewatering) काम भइरहेको छ। पानी व्यवस्थापनसँगै ती सबस्टेसनबाट विद्युत् आपूर्तिसमेत निरन्तर राखिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले बाढीपहिरोबाट क्षतिग्रस्त विद्युत् संरचनाको मर्मत तथा पुनःस्थापनाका लागि प्राविधिक टोली परिचालन गरी सम्भव भएसम्म छिटो विद्युत् सेवा सञ्चालन गर्ने काम भइरहेको जनाएको छ।


Read Previous

मनाङमा हिमपहिरो घट्टे खोला थुनियो, दर्जन बढी बेपत्ता भएको आशङ्का, सेतीवेणीका २६ घर डुबानमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar