
मनाङ/स्याङ्जा। मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो जाँदा आरोहणका लागि पुगेका करिब एक दर्जन व्यक्ति बेपत्ता भएको आशङ्का गरिएको छ।
प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार हिमाल आरोहणको तयारीका लागि त्यहाँ पुगेका २२ जनामध्ये करिब एक दर्जन हिमपहिरोमा परेको आशङ्का गरिएको हो। उक्त समूहमा नौ जना पर्वतारोही र १३ जना सहयोगी थिए।
घटनापछि उद्धारका लागि काठमाडौंमा रहेको हेलिकप्टर मनाङ पुगे पनि खराब मौसमका कारण अवतरण गर्न नसकेपछि फर्किएको प्रजिअ खनालले बताए। हिमपहिरोबाट भएको क्षतिको यकिन विवरण प्राप्त हुन नसकेको उनले बताए।
घट्टे खोला थुनियो
यसैबीच लमजुङ हिमालको बेसक्याम्पमा पहिरो गएपछि मनाङको चामे गाउँपालिका-४ स्थित घट्टे खोला थुनिएको छ।
खोला थुनिएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै चामे गाउँपालिका-३, ४ र ५ का बासिन्दालाई नेपाली सेनाको नयाँ भैरवी दल परिसरमा राखिएको प्रहरी नायब उपरीक्षक कोपिला चुडालले जानकारी दिइन्।
सेतीवेणीका २६ घर डुबानमा
अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण स्याङ्जा, पर्वत र गुल्मीको सीमामा रहेको सेतीवेणी बजार डुबानमा परेको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार गल्याङ नगरपालिका-५ तर्फका १७ घरमा बाढी पसेर क्षति पुगेको छ। पर्वततर्फका नौ घरमा समेत क्षति पुगेको गल्याङ-५ का वडाध्यक्ष घनश्याम भट्टराईले बताए।
गएराति करिब २ बजेदेखि नदी तथा खोलामा बहाव बढेपछि स्याङ्जा र पर्वततर्फका बाढी प्रभावितलाई पर्वततर्फको शालिग्राम माध्यमिक विद्यालय परिसरमा राखिएको छ। प्रभावितका लागि तत्काल खानपान तथा आश्रयको व्यवस्था मिलाइएको जनाइएको छ।
बाढीका कारण मानवीय क्षति नभए पनि केही पशुचौपाया बगाएको जनाइएको छ। बजार डुबानमा परेपछि स्थानीय जनजीवन प्रभावित भएको छ। विश्व विराट शालिग्राम शीला क्षेत्रसमेत बाढीमा डुबेको छ।
यसैबीच कालीगण्डकी नदीमा आएको बाढीका कारण स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मिर्मीमा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाका सबै ढोका खोलिएको छ। बाढीको जोखिमलाई ध्यानमा राख्दै परियोजनाको विद्युत् उत्पादन बन्द गरिएको जनाइएको छ।
कालीगण्डकी नदीको बाढीले आइतबार बिहान मिर्मीस्थित स्याङ्जा र गुल्मी जोड्ने मोटरेबल पुलसमेत बगाएको छ।


