
काठमाडौं । अर्थमन्त्री एवं एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) का लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्ले र बैंककी अध्यक्ष जोउ जियायीबीच कतारको राजधानी दोहामा भेटवार्ता भएको छ।
एआईआईबीको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री वाग्लेले भेटका क्रममा नेपालमा बैंकको लगानी विस्तार, प्राकृतिक विपद्पछिको पुनर्निर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न आग्रह गरे।
भेटमा एआईआईबी अध्यक्ष जोउले हालै भोटेकोशी नदीमा आएको बाढीबाट नेपालले भोग्नुपरेको मानवीय तथा भौतिक क्षतिप्रति समवेदना व्यक्त गरिन्। उनले विपद्पछिको उत्थानशील पुनर्निर्माणमा बैंकका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
अध्यक्ष जोउले एआईआईबीले प्रोजेक्ट प्रिपरेसन स्पेसलाइज्ड फन्डमार्फत परियोजना तयारीका लागि अनुदान सहायता उपलब्ध गराउने बताइन्। साथै, स्पेसलाइज्ड फन्ड विन्डोअन्तर्गतको अनुदान प्रयोग गरी नेपाललाई उपलब्ध गराइने ऋणलाई थप सहुलियतपूर्ण ब्याजदरमा कायम गर्न सकिने धारणा उनले राखिन्।
एआईआईबीको संस्थापक सदस्य राष्ट्रका रूपमा नेपालको आर्थिक विकासमा थप सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि अध्यक्ष जोउले दोहोर्याइन्।
भेटका क्रममा अर्थमन्त्री वाग्लेले नवनियुक्त अध्यक्ष जोउलाई बधाई दिँदै संस्थापक सदस्य राष्ट्रका रूपमा नेपाललाई बैंकले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे।
उनले एआईआईबीको लगानीमा सञ्चालनमा रहेका विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार आयोजना र एक्सप्रेस सडकको अध्ययन शीघ्र सम्पन्न गर्न आग्रह गरे। साथै, एआईआईबीको लगानी रहेको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा बाढीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरे।
अर्थमन्त्री वाग्लेले मध्यमकालीन तथा दीर्घकालीन सहयोगअन्तर्गत हरित ऊर्जा, सीमापार विद्युत् प्रसारण लाइन, सडक पूर्वाधार र डिजिटल पूर्वाधार विकासका लागि एआईआईबीको आफ्नै स्रोतसँगै अन्य दातृ निकायका स्रोतसमेत परिचालन गर्न आग्रह गरे।
भेटका क्रममा अर्थमन्त्री वाग्लेले अध्यक्ष जोउलाई सन् २०२६ भित्र नेपाल भ्रमणका लागि निमन्त्रणासमेत दिएका छन्।

