
सिरहा। सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको हत्या भएको २२ महिनापछि घटनाका मुख्य अभियुक्त पक्राउ परेका छन्। मुख्य अभियुक्त पक्राउ परेपछि लामो समयदेखि न्यायको प्रतीक्षामा रहेको यादव परिवारमा फेरि आशा जागेको छ।
भारतबाट नेपालतर्फ भइरहेको मदिरा तस्करी रोक्ने क्रममा २०८१ मंसिर १६ गते बिहान सई यादवको हत्या भएको थियो। घटनामा संलग्न मुख्य अभियुक्त भारत बिहारको मधुवनी जिल्ला, ललबनियाँ थाना क्षेत्रको घोडमोहना गाउँका ३७ वर्षीय मोहम्मद कुरवान मंसुरीलाई प्रहरीले पक्राउ गरेको हो।
मुख्य अभियुक्त पक्राउ परेपछि यादवका दाइ पाण्डव यादवले परिवारको टुटिसकेको आशा फेरि जागेको प्रतिक्रिया दिए।
“हाम्रो आशा-भरोसा सबै टुटिसकेको थियो। भाइको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सक्छ कि सक्दैन भन्ने लाग्न थालेको थियो। तर २२ महिनापछि मुख्य अभियुक्त पक्राउ परेपछि टुटिसकेको आशा फेरि जागेको छ,” उनले भने।
मुख्य अभियुक्त पक्राउ परेको खबरले परिवारलाई ठूलो राहत मिलेको पाण्डवले बताए। अब घटनामा संलग्न अन्य व्यक्तिलाई समेत पक्राउ गरी न्याय दिलाउन उनले आग्रह गरे।
यादवका सालो रञ्जित यादवले पनि मुख्य अभियुक्त पक्राउ परेसँगै न्यायप्रतिको परिवारको आशा बलियो भएको बताए।
“नागरिक अन्यायमा पर्दा प्रहरीले सुरक्षा दिन्छ र अन्याय गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउँछ। तर प्रहरीको नै हत्या हुँदा नागरिक र प्रहरीबीचको विश्वासमा असर पर्न सक्छ,” उनले भने, “२२ महिनापछि मुख्य अभियुक्त पक्राउ पर्दा मरेजस्तै भएको हाम्रो आशा फेरि जागेको छ।”
उनले घटनामा संलग्न सबै व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन राज्यसँग आग्रह गरे।
मदिरा तस्करी रोक्ने क्रममा भएको थियो हत्या
प्रहरीका अनुसार भारतबाट नेपालतर्फ मदिरा तस्करी भइरहेको सूचनाका आधारमा २०८१ मंसिर १६ गते बिहान करिब ३ बजे बरियारपट्टी गाउँपालिका-१ कचनारीस्थित नेपाल-भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो।
बीओपी बडहरी बरियारपट्टीबाट सई यादवको नेतृत्वमा खटिएको टोलीले डीएल ५ सीजे ७१७१ नम्बरको टाटा सफारी रोक्न खोजेको थियो। त्यस क्रममा गाडीका चालकले ड्युटीमा रहेका सई यादवलाई ठक्कर दिएर फरार भएको प्रहरीको भनाइ छ।
गाडीको ठक्करबाट गम्भीर घाइते भएका यादवको उपचारका क्रममा मृत्यु भएको थियो। घटनापछि गाडीमा सवार व्यक्तिहरू फरार भएका थिए।
त्यसपछि प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी र अनुसन्धान अघि बढाएको थियो।
२२ महिनापछि मुख्य अभियुक्त पक्राउ
घटना भएको २२ महिनापछि प्रहरीले घटनाका मुख्य अभियुक्त मोहम्मद कुरवान मंसुरीलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कुरवानलाई शुक्रबार बरियारपट्टी गाउँपालिका-१ कचनारीस्थित नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो। उनी घटनामा प्रयोग भएको टाटा सफारीका धनी तथा चालक रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कुरवानसहित तीन जना सीमा क्षेत्रबाट भाग्न खोजिरहेका थिए। उनीहरूलाई इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट प्रहरी निरीक्षक विशाल मल्लको कमान्डमा खटिएको टोलीले नियन्त्रणमा लिन खोजेको थियो।
त्यस क्रममा प्रहरीलाई लक्षित गरी एक राउन्ड गोली चलाइएको र त्यसको जवाफी कारबाहीमा प्रहरीले तीन राउन्ड गोली चलाएको प्रहरीको भनाइ छ।
प्रहरीको गोली लागेर कुरवानको बायाँ हातको कुहिना र दाहिने खुट्टाको घुँडामा चोट लागेको थियो। पक्राउ परेका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा ल्याइएको थियो। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
‘फरार व्यक्तिलाई पनि चाँडै पक्राउ गर्छौं’
मुख्य अभियुक्त पक्राउ परेपछि शनिबार जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठक, सशस्त्र प्रहरीका एसपी सुमनजंग थापालगायत सुरक्षा निकायका अधिकारी यादवको घर पुगेका थिए।
परिवारसँगको भेटमा सुरक्षा अधिकारीहरूले घटनामा संलग्न सबै व्यक्तिलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका थिए।
एसपी पाठकले घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याएर पीडित परिवारलाई न्याय दिलाउन प्रहरी प्रतिबद्ध रहेको बताए।
“मुख्य अभियुक्तलाई प्रहरीले २२ महिनापछि पक्राउ गरिसकेको छ। घटनामा संलग्न अर्का एक जना अझै फरार छन्। उनको पनि खोजी भइरहेको छ। चाँडै पक्राउ गरी कानुनी दायरामा ल्याउँछौँ र पीडित परिवारलाई न्याय दिलाउँछौँ,” उनले भने।
मुख्य अभियुक्त पक्राउ परेसँगै प्रहरीले घटनाको अनुसन्धान थप अघि बढाएको जनाएको छ। फरार रहेका अन्य व्यक्तिको खोजीसमेत भइरहेको प्रहरीले जनाएको छ।

