Nepal Purbadhar

भोटेकोशी बाढी अपडेट: १ हजार ४३६ शव फेला, ४ हजार ६५५ अझै बेपत्ता


काठमाडौं। भोटेकोशी बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म १ हजार ४३६ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आइतबार बिहान ११ बजेसम्म विभिन्न जिल्लाबाट उक्त संख्यामा शव फेला परेको जनाएको हो।

प्रहरीका अनुसार रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ शव फेला परेका छन्।

फेला परेका शवको पहिचानका लागि डीएनए नमूना संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। हालसम्म १ हजार २९२ शवको व्यवस्थापन गरिएको छ।

शव पहिचानका लागि मृतकका आफन्त तथा सम्बन्धित व्यक्तिबाट गरी कुल ३ हजार २८३ ओटा डीएनए नमूना संकलन गरिएको छ। त्यसमध्ये मृतकका तर्फबाट १ हजार २८६ र आफन्तका तर्फबाट १ हजार ९९७ ओटा नमूना संकलन गरिएको प्रहरीले जनाएको छ।

पहिचान हुन बाँकी १ हजार ३६२ शवको विवरणसमेत प्रहरीले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ। शव पहिचान प्रक्रिया अघि बढाउन संकलित डीएनए नमूनाका आधारमा आवश्यक परीक्षण भइरहेको जनाइएको छ।

यसैबीच, बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, शव व्यवस्थापनलगायतका कामका लागि प्रहरीले ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ। हालसम्म ७ हजार ९७५ प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।

बाढीपछि अझै ४ हजार ६५५ जना बेपत्ता रहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै बेपत्ता व्यक्तिको खोजी, शव पहिचान तथा व्यवस्थापन र राहतसम्बन्धी कामलाई निरन्तरता दिइएको छ।


Read Previous

इप्पानका उपाध्यक्ष विक्रम बिष्ट सम्मानित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar