
काठमाडौं। उद्योगपति तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले बाढी प्रभावितको उद्धार र राहतका लागि १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
गोल्छाले गोल्छा समूहका तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने बताएका हुन्।
बाढी प्रभावित रसुवा तथा अन्य क्षेत्रबाट सार्वजनिक भइरहेका तस्बिर र भिडियोले आफूहरू स्तब्ध र दुःखी भएको उल्लेख गर्दै गोल्छाले विपत्तिमा ज्यान गुमाएकाका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
अझै आफ्ना आफन्तको अवस्थाबारे जानकारीको पर्खाइमा रहेका परिवारको पीडा र चिन्तामा आफूहरू साथमा रहेको उनले बताएका छन्।
उनले अहिलेको कठिन परिस्थितिमा उद्धार, राहत तथा प्रभावित परिवार र समुदायसम्म आवश्यक सहयोग पुर्याउनु सबैको साझा प्राथमिकता हुनुपर्ने बताएका छन्।
गोल्छाले विपद्को समयमा निजी क्षेत्र पनि सरकार र समुदायसँग सहकार्य गर्दै राहत तथा पुनःस्थापनाका काममा सक्दो योगदान दिनुपर्नेमा जोड दिएका छन्।
उनले अन्य निजी क्षेत्रका व्यवसायी तथा संस्थालाई समेत विपद् प्रभावितको सहयोगमा अघि आउन अपिल गरेका छन्।
