Nepal Purbadhar

प्राधिकरणको आम्दानी १ खर्ब ६६ अर्ब, विद्युत् निर्यातबाट २९ अर्ब ३१ करोड आम्दानी


काठमाडौं। आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले विद्युत् बिक्री तथा अन्य आम्दानीबाट कुल १ खर्ब ६६ अर्ब रुपैयाँ आम्दानी गरेको छ। विद्युत् बिक्रीबाट मात्रै प्राप्त आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा १८.२० प्रतिशतले बढेर १ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ।

प्राधिकरणको समग्र कार्यसम्पादनमा सुधार, विद्युत् चुहावट न्यूनीकरण तथा विद्युत् निर्यातमा भएको वृद्धिका कारण कुल नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १३.१७ प्रतिशतले बढेर ३१ अर्ब २३ करोड रुपैयाँ पुगेको छ।

यस्तै, कुल सञ्चालन मुनाफा ७.२८ प्रतिशतले बढेर २४ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। यद्यपि विदेशी विनिमय दरमा भएको वृद्धिका कारण प्राधिकरणले व्यहोर्नुपर्ने दायित्व २७२.८६ प्रतिशतले बढेर ११ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। ह्रास कट्टी, ब्याज खर्च तथा इम्पेरिमेन्ट नोक्सानीका लागि गरिएको व्यवस्थाका कारण करअघिको नाफा भने ५ अर्ब ४ करोड रुपैयाँमा सीमित भएको छ।

नेपालले आर्थिक वर्ष २०८२/८३ मा विद्युत् आयातमा १० अर्ब ५६ करोड रुपैयाँ खर्च गरेको छ। सोही अवधिमा २९ अर्ब ३१ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गरी आम्दानी गरेको छ।

विद्युत् निर्यातबाट भएको आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ६८ प्रतिशत बढी हो। भारतसँग प्रतिस्पर्धात्मक बजार, विभिन्न सम्झौता तथा भारत-नेपाल विद्युत् आदानप्रदान संयन्त्रमार्फत विद्युत् व्यापार भइरहेको प्राधिकरणले जनाएको छ।

जुलाई २०२६ मा नेपाल र भारतका अधिकारीबीच भएको बैठकबाट बुटवल-गोरखपुर, ढल्केबर-मुजफ्फरपुर तथा ढल्केबर-सीतामणि ४०० केभी प्रसारण लाइनको सञ्चालन तथा विद्युत् आयात-निर्यातको परिमाणसम्बन्धी महत्वपूर्ण निर्णय भएका छन्। यसले आगामी दिनमा सीमापार विद्युत् व्यापार थप सहज र विस्तार हुने अपेक्षा गरिएको छ।


Read Previous

विद्युत् जडित क्षमता ४ हजार १२० मेगावाट, निजी क्षेत्रबाट मात्रै ३ हजार ४५९ मेगावाट उत्पादन

Read Next

३५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर पुरस्कार, १६ जना जनही १ लाखका विजेता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar