
काठमाडौं। काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव सहज बनाउन नेपाल आयल निगमले विशेष बिक्री–वितरणको व्यवस्था गरे पनि उपभोक्ताको सास्ती भने घटेको छैन। निगमले तोकेका बिक्री केन्द्रमा ग्यास लिन बिहानैदेखि उपभोक्ताको लामो लाइन लागेको छ।
विशेषगरी निगमको टेकुस्थित परिसरलगायतका बिक्री केन्द्रमा ग्यास सिलिन्डर लिन पुगेका सर्वसाधारणको बाक्लो भीड देखिएको छ। घण्टौँसम्म लाइनमा बस्नुपर्ने अवस्था आएपछि उपभोक्ताले सहज रूपमा ग्यास उपलब्ध गराउनुपर्ने माग गरेका छन्।

नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालय, काठमाडौंको समन्वयमा ग्यास उद्योगीमार्फत आज उपत्यकाका विभिन्न ७ ओटा स्थानबाट एलपी ग्यास बिक्री–वितरण भइरहेको छ। नियमित विक्रेताबाट ग्यास प्राप्त गर्न नसकेका अत्यावश्यक उपभोक्तालाई लक्षित गरी निगमले यस्तो व्यवस्था गरेको हो।
निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम र सागर ब्रान्डका ग्यास बिक्री भइरहेको छ। पशु सेवा शाखा, चपली–बूढानीलकण्ठबाट नेपाल, एचपी र भानु ब्रान्डका ग्यास उपलब्ध छन्।

त्यस्तै, राधास्वामी परिसर, कीर्तिपुरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया ब्रान्डका ग्यास बिक्री भइरहेको छ। नयाँ बजारस्थित जुडो हल परिसरबाट नेपाल, एचपी र ओम तथा तारकेश्वर नगरपालिका परिसरबाट नेपाल र एचपी ब्रान्डका ग्यास बिक्री गरिँदैछ।
चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीबाट नेपाल, एचपी, सूर्य, सागर, एभरेस्ट/सुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री–वितरण भइरहेको निगमले जनाएको छ।

निगमका अनुसार तोकिएका बिक्री केन्द्रबाट बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ग्यास खरिद गर्न सकिने व्यवस्था गरिएको छ। ग्यास खरिद गर्न जाने उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ।
निगमले एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको दाबी गर्दै सम्बन्धित व्यवसायीलाई आफ्ना विक्रेतामार्फत नियमित रूपमा ग्यास बिक्री गर्नसमेत आग्रह गरेको छ।

तर, आयात नियमित भइरहेको भनिए पनि बजारमा सहज रूपमा ग्यास नपाएपछि उपभोक्ता विशेष बिक्री केन्द्रसम्म पुग्न बाध्य भएका छन्। तोकिएका स्थानमा विभिन्न ब्रान्डका सिलिन्डर उपलब्ध गराइए पनि घण्टौँसम्म लाइनमा बस्नुपर्ने र ग्यास पाउन लामो समय कुर्नुपर्ने अवस्थाले उपभोक्ताको दैनिक जीवन थप कठिन बनेको छ।

तस्बिरहरु- सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

