Nepal Purbadhar

मन्त्री स्टन्टमा व्यस्त, बजारमा जनताको याचना–‘सरकार ! ग्यास देऊ’

ग्यास पाइने आसमा लाइन बसेका चितवनबासी।


चितवन। बजारमा खाना पकाउने ग्यासको चरम अभाव भएपछि सर्वसाधारण दिनभर खाली सिलिण्डर बोकेर ग्यास खोज्दै हिँड्न बाध्य भएका छन् । ग्यास नपाउँदा कतिपयले पढाइ र दैनिक कामसमेत छाडेर घण्टौँ लाइनमा बस्नुपरेको छ ।

भरतपुरका विजय कमली ग्यास नपाएर भौतारिएको तीन दिन भइसकेको छ । ग्यास पाउने आशामा उनी एक ठाउँबाट अर्को ठाउँ धाइरहेका छन् । ग्यास किन्न नागरिकता आवश्यक पर्ने सूचना पाएपछि उनले नागरिकताको प्रतिलिपिसमेत साथमा बोकेर हिँडेका छन् ।

‘टेम्पोमा खाली सिलिण्डर हालेर हिँडेको तीन दिन भइसक्यो । नागरिकताको फोटोकपी पनि लिएरै हिँडेको छु । त्यही पनि ग्यास पाउन गाह्रो भयो,’ घरबाट करिब ६ किलोमिटर टाढासम्म ग्यास खोज्न पुगेका उनले भने ।

एक महिनाअघि भरेको आधा सिलिण्डर ग्यासले अहिलेसम्म घरको गुजारा चलाएका कमलीका घरमा ४ र ८ वर्षका दुई बालबालिका छन् । आफ्नाभन्दा बढी चिन्ता स्कुल जाने बालबालिकालाई खाना कसरी खुवाउने भन्ने रहेको उनले बताए ।

‘छिटो सहजीकरण होस् भन्ने चाहन्छु । गाह्रो भइसक्यो,’ उनले सरकारसँग आग्रह गरे ।

तनहुँबाट भरतपुर आएर व्यवस्थापन संकाय पढ्दै गरेकी स्मृति बस्यालको समस्या पनि उस्तै छ । ग्यास खोज्न उनले बिहीबार कलेजसमेत छाडिन् । दिनभर लाइनमा बसे पनि सहजै ग्यास पाउन नसकेको उनले बताइन् ।

‘आज त कलेज नै छोडेर ग्यास मिलाउन आएको । पढाइ नै छुटाउनु पर्‍यो । ग्यास नहुँदा साह्रै दुःख भयो,’ उनले भनिन् । ग्यास नपाउँदा कहिले जंकफुड त कहिले बाहिरको खाना खाएर दुई–तीन दिन गुजारा चलाउनुपरेको उनको भनाइ छ ।

भरतपुर–१० की ७० वर्षीया सीता पौडेल पनि सात दिनदेखि ग्यासको खोजीमा ठाउँ–ठाउँमा लाइन लागिरहेकी छन् । घरमा नातिनीलाई छाडेर ग्यास लिन लाइनमा बसेको उनले सुनाइन् ।

‘बिहान ६ बजेदेखि मुखमा पानी राखेको छैन । नातिनीहरू भोकै स्कुल गए कि खाए, थाहा छैन,’ उनले भनिन् ।

ग्यासको अभावले सर्वसाधारणको दैनिक जीवन प्रभावित भइरहँदा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भने अनुगमन र छापा अभियानमा केन्द्रित भएकी छन् । मन्त्रीको निर्देशनपछि पाँचतारे होटल र्‍याडिसनमा छापा मारेर १८४ ओटा ग्यास सिलिण्डर ‘लुकाइएको’ भन्दै मन्त्रीको सचिवालयले विवरण सार्वजनिक गरेको थियो ।

तर होटलले ती सिलिण्डर बाह्य बिक्री वा कालोबजारीका लागि नभई आफ्नै भान्साका लागि खरिद गरेको जनाएको छ । होटल सञ्चालकका अनुसार १८४ ओटा सिलिण्डरको मौज्दात तीनदेखि चार दिनका लागि मात्रै पर्याप्त हुने अवस्था छ ।

बजारमा सर्वसाधारणले खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने र एक ठाउँबाट अर्को ठाउँ भौतारिनुपर्ने अवस्था रहँदा सरकारी अनुगमन भने प्रचारमुखी गतिविधिमा सीमित भएको भन्दै प्रश्न उठ्न थालेको छ ।

सर्वसाधारणले भने अनुगमन र कारबाहीभन्दा पहिले बजारमा पर्याप्त ग्यास उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


Read Previous

नेपालले अहिल्यैदेखि ईभी ब्याट्री रिसाइकलको स्पष्ट नीति बनाउनुपर्छ : डा. भनोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar