
काठमाडौं। बीवाइडीको लोकप्रिय विद्युतीय एसयूभी एटो-२ नेपाली बजारमा नयाँ र कम मूल्यको भेरियन्टमा उपलब्ध भएको छ। नेपालमा बिक्री हुँदै आएको रेगुलर भेरियन्टको तुलनामा नयाँ भेरियन्ट कम मूल्यमा सार्वजनिक गरिएको हो।
नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसर पारेर एटो-२ को नयाँ इसेन्सियल भेरियन्ट सार्वजनिक गरेको हो।
नयाँ एटो-२ इसेन्सियलको मूल्य ४५ लाख ९५ हजार रुपैयाँ तोकिएको छ। यसअघि बिक्री हुँदै आएको एटो-२ प्रिमियम भेरियन्टको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ रहेको थियो। यससँगै नयाँ भेरियन्ट नियमित मोडलभन्दा ३ लाख ४ हजार रुपैयाँ कम मूल्यमा उपलब्ध भएको छ।
नयाँ भेरियन्टमा मुख्य परिवर्तन ब्याट्री क्षमतामा गरिएको छ। यसमा ४५ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ।
कम्पनीका अनुसार नयाँ एटो-२ इसेन्सियलले एकपटक पूर्ण चार्जमा डब्लूएलटीपी मापदण्डअनुसार ३१३ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ।
यसअघि बिक्री हुँदै आएको प्रिमियम भेरियन्टको तुलनामा नयाँ मोडलमा ब्याट्री साइज घटाइएको हो। ब्याट्रीबाहेक गाडीको डिजाइन तथा अन्य प्रमुख पक्षमा ठूलो परिवर्तन नगरिएको कम्पनीले जनाएको छ।
ब्याट्री क्षमता घटाएर मूल्य कम गरिएपछि बीवाइडीले एटो-२ लाई थप फराकिलो ग्राहक वर्गसम्म पुर्याउने रणनीति लिएको देखिन्छ।
नेपाली बजारमा विद्युतीय एसयूभीको माग बढिरहेका बेला करिब ४६ लाख रुपैयाँको मूल्यमा एटो-२ उपलब्ध भएपछि यो सेग्मेन्टमा प्रतिस्पर्धा थप बढ्ने अपेक्षा गरिएको छ।
२ करोड ९७ लाखमा बिक्री सुरू भयो डेन्जा बी फाइभ
नेपालमा बीवाइडीको प्रिमियम ब्राण्ड डेन्जाको नयाँ प्लगइन हाइब्रिड एसयूभी ‘डेन्जा बी फाइभ’ बिक्री सुरू भएको छ । बिक्रेता इंकले नाइमा मोबिलिटी एक्स्पोमा डेन्जा बी फाइभ बिक्री सुरू गरेको हो ।
कम्पनीले प्रिमियम लग्जरी एसयूभी डेन्जा बी फाइभको मूल्य २ करोड ९७ लाख रुपैयाँ तोकेको छ ।

डेन्जा बी फाइभ दुई भेरियन्टमा उपलब्ध छ । यसको डाइनामिक भेरियन्टको लम्बाइ ४८८८ एमएम र प्रिमियम भेरियन्टको लम्बाइ ४९२१ एमएम छ । दुवै भेरियन्टको चौडाइ भने समान १९७० एमएम छ । यसमा २८०० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।
ह्वील साइज पनि फरक छ । डाइनामिक भेरियन्टमा १८ इन्चको ह्वील छ । माथिल्लो प्रिमियम भेरियन्टमा २० इन्चको ह्वील पाउन सकिन्छ ।
डेन्जा बी फाइभ मोडलमा १४९७ सीसी क्षमताको टर्बो इन्जिन दिइएको छ । यक्त इन्जिनको अधिकतम १८१ एचपी पावर प्रदान गर्छ । इन्जिनको पीकटर्क भने २६० न्युटन मिटर रहेको छ ।
यसमा ईएचएस इलेक्ट्रीक हाइब्रिड सिस्टम उपलब्ध छ । उक्त सिस्टमसँग ३१.८ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ । यसमा ८३ लिटर क्षमको इन्धन ट्याङ्की छ । फुल ट्याङकी इन्धन र फुल चार्ज ब्याट्री छ भने ८५० किलोमिटर चलाउन सकिने डब्लूएलटीपी टेस्टमा देखिएको छ । ईभी मोडमा मात्रै ९० किलोमिटर हाराहारी चलाउन सकिन्छ ।
इलेक्ट्रीक मोटर निकै पावरफुल प्रयोग भएको छ । अल ह्वील ड्राइभ सिस्टममा उपलब्ध हुने बी फाइभ एसयूभीको अगाडि २०० किलोवाट र पछाडि २२५ किलोवाटको मोटर दिइएको छ । इन्जिन र मोटरको संयुक्त पावर ४२५ किलोवाट हुनेछ । निकै पावरफुल मोटर भएको कारण यसलाई शून्यबाट १०० किलोमिटरको स्पीड भेट्टाउन केबल ४.८ सेकेण्ड मात्रै लाग्नेछ । यसको टप स्पीड क्षमता प्रतिघण्टा २१० किमी छ ।
डेन्जा बी फाइभले १०० किलोवाटको डीसी र ११ किलोवाटको एसी चार्जर सपोर्ट गर्छ ।
