Nepal Purbadhar

बिजुलीको महसुल ७ प्रतिशत बढाउने तयारीमा प्राधिकरण

तस्बिर:एआई


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतको महसुल बढाउनुपर्ने निष्कर्ष निकालेको छ। प्राधिकरणको आन्तरिक समितिले तयार पारेको प्रतिवेदनले करिब ७ प्रतिशत महसुल बढाउनुपर्ने निष्कर्ष निकालेको हो ।

प्राधिकरणले ग्राहकको वर्ग अनुसार फरक फरक महसुल बढाउनुपर्ने निष्कर्ष निकालेको हो । तर ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयले अर्थ मन्त्रालयले बिजुलीमा भ्याट लगाएर आलोचना खेप्नुपरेपछि महसुल घटाउने भन्दै समिति बनाएको छ । ऊर्जा मन्त्रालयले समिति बनाएपनि प्राधिकरणले भने बिजुलीको महसुल नबढाए समस्यामा पर्ने निष्कर्ष निकालेको छ। प्राधिकरणका कायममुकाय कार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठले पनि महसुल बढाउनुपर्ने निष्कर्ष निकालेको स्वीकार गरे । उनले प्राधिकरणको सञ्चालक समितिमा त्यसबारे छलफल हुने बताए ।

ऊर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले सञ्चालक अंशु किरण शाहीको संयोजकत्वमा समिति बनाएको हो । समितिमा ऊर्जा मन्त्रालयका प्रतिनिधी, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधी, ऊर्जा विज्ञ,उपभोक्ता र वित्त विज्ञसमेत रहने गरी ३ जना,उपकार्यकारी निर्देशक सदस्य सचिव रहने गरी समिति बनाएको हो । १५ दिनको कार्यवधि दिएर समिति बनाइएको हो । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले समिति बनाउन निर्देशन दिएका हुन् ।

उत्पादित विद्युत अधिकतम उपयोग सुनिश्चित गर्न,ग्राहस्त उपभोक्तालाई सहुलियत प्रदान गर्न, उच्च खपत गर्ने उत्पादनमुलक उद्योगलाई उपयुक्त सहुलियत दरमा विद्युत उपलब्ध गराई समग्र विद्युत खपत वृद्धि गर्न विद्युत महसुल पुनरावलोकन समिति बनेको हो ।

अर्थमन्त्रालयले ग्राहस्त वर्गमा ५० युनिटभन्दा बढी खपत गर्नेलाई ५ प्रतिशत भ्याट लगाएको छ। भने व्यापारिक प्रयोजनमा १३ प्रतिशत लगाएको छ । सोही अनुसारको बिलिङ प्राधिकरणले थालिसकेको छ । उक्त भ्याट रकम प्राधिकरणको खातामा जम्मा नहुने भएपछि प्राधिकरणले महसुल बढाउन सरकार समक्ष प्रस्ताव गर्न लागेको हो । महँगीको बढेको तुलनामा महसुल कम रहेको र त्यसले प्राधिकरणको वित्तिय स्थितिलाई असर गरेको भन्दै महसुल बढाउन प्रस्ताव गर्न लागेको हो ।

प्राधिकरणका अनुसार कम्तीमा ५ प्रतिशत बढाउँदा प्राधिकरणको आम्दानी १० अर्ब रुपैयाँले बढ्ने छ । ग्राहस्त वर्गको महसुल बढाउँदा सरकारको आलोचना हुन सक्ने भन्दै उक्त वर्ग बाहेकको महसुल बढाउनुपर्ने प्राधिकरणको निष्कर्ष छ ।

प्राधिकरणको पछिल्लो पटक ५ वर्ष पहिले २०७८ सालमा १९ प्रतिशत महसुल बढाएको थियो। त्यसयता पटक पटक महसुल बढाउन प्रतिवेदनहरु तयार पारिएपनि निर्णय हुन सकेको छैन्। स्रोतका अनुसार अर्थमन्त्री स्वर्णिम वाग्लेले ऊर्जा मन्त्रालयलाई नै नसोधी भ्याट लगाएका हुन्। सोही कारण रुष्ट बनेका ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले महसुल घटाउने भन्दै समिति बनाएका छन्। तर प्राधिकरणले महसुल घटाउन नहुने जानकारी मन्त्री श्रेष्ठलाइ गराइसकेको छ।

प्राधिकरणको घट्दो नाफा र बढ्दो दायित्वका कारण महसुल बढाउनै पर्ने दबाबमा प्राधिकरण छ ।


Read Previous

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरू, आईजीपी कार्कीले गरे उद्घाटन- तस्बीरहरू

Read Next

विद्युतीय सवारीका पार्टपुर्जामा भन्सार छुट दिन यातायात व्यवसायीको माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar