Nepal Purbadhar

निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको आधार हो : अर्थमन्त्री वाग्ले


काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको आधार भएकाले सरकार निजी क्षेत्रलाई शङ्काको दृष्टिले नभई साझेदारका रूपमा हेर्ने बताएका छन्।

नेपालका ठूला उद्योगी तथा व्यवसायी संस्थाका नेतृत्वसँगको छलफलमा अर्थमन्त्री वाग्लेले सरकार र निजी क्षेत्र मिलेर नेपालको आर्थिक रूपान्तरणको नेतृत्व गर्नुपर्ने बताए। उनले निजी क्षेत्रलाई थप लगानी गर्न, भएका उद्योग विस्तार गर्न, नयाँ उत्पादनमा प्रवेश गर्न, प्रविधि भित्र्याउन र रोजगारी सिर्जना गर्न आग्रह गरे।

“नेपालमा अझ ठूलो लगानी गर्नुहोस्। भएका उद्योग विस्तार गर्नुहोस्। नयाँ उत्पादनमा प्रवेश गर्नुहोस्। नयाँ प्रविधि भित्र्याउनुहोस्। नयाँ रोजगारी सिर्जना गर्नुहोस्,” उनले भने, “सरकार तपाईंहरूको साथमा उभिनेछ।”

अर्थमन्त्री वाग्लेले उद्योगी–व्यवसायी, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकको नेतृत्वसँग भएका छलफलबाट नेपालको आर्थिक रूपान्तरण सरकार वा कुनै एक संस्थाको प्रयासबाट मात्र सम्भव नहुने निष्कर्ष निस्किएको बताए। उनका अनुसार आर्थिक रूपान्तरणको नेतृत्व सरकार र निजी क्षेत्रले सँगै गर्नुपर्छ।

“आज म यहाँ सरकारको धारणा सुनाउनभन्दा बढी देशका सबैभन्दा बढी लगानी गरेका र सबैभन्दा बढी जोखिम उठाएका उद्यमीहरूको अनुभव सुन्न आएको छु,” उनले भने।

उनले सरकारले यस वर्षको बजेटमार्फत निजी क्षेत्रप्रतिको दृष्टिकोण स्पष्ट गरेको बताए। सरकारको प्राथमिकता कर संकलन बढाउनु मात्र नभई उत्पादन, लगानी, नाफा र पुनःलगानीको चक्रलाई तीव्र बनाउनु रहेको उनको भनाइ छ।

“जब उद्योगले नाफा कमाउँछ, त्यही नाफा पुनःलगानी हुन्छ। पुनःलगानीले उत्पादन बढाउँछ। उत्पादनले रोजगारी सिर्जना गर्छ। रोजगारीले आम्दानी बढाउँछ र आम्दानीले बजार विस्तार गर्छ,” उनले भने, “अन्ततः त्यसबाट राज्यको राजस्व पनि बढ्छ।”

अर्थमन्त्री वाग्लेले सरकार र निजी क्षेत्रबीचको सम्बन्ध शून्य–योगको नभएको बताए। दुवै पक्षको सफलता एकअर्काको सफलतासँग जोडिएको उनको भनाइ छ।

उनले नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताए। उद्यमीले आफ्नो सम्पत्ति सुरक्षित रहेको, नियम स्थिर रहेको, कर प्रणाली पूर्वानुमेय रहेको र राज्य साझेदारका रूपमा उभिएको विश्वास गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने उनले बताए।

उनले आगामी दिनमा व्यवसाय विस्तारमा रहेका मुख्य अवरोध पहिचान गरी समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए। कर प्रशासन, नियमन, जग्गा, ऊर्जा, श्रम, पूर्वाधार, वित्त, निर्यात, कानुनी व्यवस्था तथा सरकारी प्रक्रियामध्ये तत्काल सुधार गर्नुपर्ने विषयमा उद्योगी–व्यवसायीबाट स्पष्ट सुझाव मागे।

अर्थमन्त्री वाग्लेले आगामी छ महिनाभित्र सरकारले गर्नुपर्ने महत्वपूर्ण पाँच निर्णय पहिचान गर्न समेत व्यवसायीलाई आग्रह गरे।

“आजको बैठकमा म केवल सुझाव संकलन गर्न चाहन्नँ। म समाधानको कार्यसूची बनाउन चाहन्छु,” उनले भने।

छलफलमा उठेका विषयको कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग समयबद्ध समन्वय गरिने र अर्थ मन्त्रालयले ‘रेस्पोन्स डेस्क’मार्फत निरन्तर अनुगमन गर्ने उनले जानकारी दिए। यो संवाद एकपटकको कार्यक्रम नभई समस्या समाधान नभएसम्म निरन्तर चल्ने उनको भनाइ छ।

अर्थमन्त्री वाग्लेले करदातालाई केवल राजस्वको स्रोतका रूपमा नभई राष्ट्र निर्माणको साझेदारका रूपमा सम्मान गर्ने नीति सरकारको रहेको बताए। इमानदारीपूर्वक कर तिर्ने संस्कृतिलाई उच्च सामाजिक सम्मान दिलाउन सरकारले काम गरिरहेको उनले बताए।

“हामी यस्तो वातावरण निर्माण गर्न चाहन्छौँ जहाँ उद्योगी सफल हुँदा समाज गर्व गरोस्, लगानीकर्ता सुरक्षित महसुस गरोस्, करदाता सम्मानित होस् र युवा उद्यम गर्न प्रेरित होस्,” उनले भने।

सरकार र निजी क्षेत्रबीचको साझेदारीलाई थप सुदृढ गर्दै आगामी दशकलाई ठूलो लगानी, ठूलो उत्पादन, ठूलो रोजगारी र ठूलो आत्मविश्वासको दशक बनाउने लक्ष्यसहित अघि बढ्न उनले आह्वान गरे।

छलफलमा सहभागी बहुराष्ट्रिय कम्पनीहरू

एनसेल आजियाटा लिमिटेड
आरती स्ट्राईप्स प्रा.लि.
गोर्खा ब्रुअरी प्रा. लि.
हिमालय एअरलाइन्स् प्रा.लि.
होङ्शी शिवम् सिमेन्ट प्रा. लि.
डुसान इनरबिलिटी कम्पनी लिमिटेड
डाबर नेपाल (प्रा.) लि.
वोटलर्स नेपाल (तराई) लिमिटेड
यूनिलिभर नेपाल लिमिटेड
एशियन पेन्टस (नेपाल) प्रा.लि.
पावर कन्स्ट्रक्सन कोर्पोरेसन अफ चाइना, लि
गोर्खा लाहारी प्रा.लि.
ह्वासिन सिमेन्ट नारायणी प्रा.लि.
न्यू होप एग्रो बिजनेश नेपाल प्रा. लि.
नेपाल वेलहोप एग्रि-टेक प्रा.लि.
वरुण विभरेज नेपाल प्रा. लि.
टर्किस एयरलाइन्स ईन्कर्पोरेशन प्रा. लि .
भोटेकोशी पावर कम्पनी प्रा. ली.
बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा. लि.


Read Previous

नाइमा नेपाल मोबिलिटी एक्स्पोको तयारी तीव्र, ५३ ब्रान्ड सहभागी हुँदै

Read Next

ढल्केबरको ट्रमा सेन्टर निर्माण नरोकिने, लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar