
झापा। जिल्ला पूर्वाधार विकास कार्यालय झापाले गत आर्थिक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र गरेको छ।
कार्यालयका अनुसार सो अवधिमा ३२.८० किलोमिटर सडक ग्राभेल, ९.५२ किलोमिटर सडकमा आरसिसी ढलान तथा ९०० मिटर सडकको मर्मतसम्भार गरिएको छ।
कार्यालय प्रमुख राजेश्वर महतोका अनुसार गत आर्थिक वर्षमा छ वटा झोलुङ्गे पुल, तीन सरकारी भवन, ४९ सामुदायिक भवन, ११ धार्मिक संरचना, आठ विद्यालयका पूर्वाधार, एउटा कभर्डहल तथा आठ अन्य भवन तथा पूर्वाधार निर्माण भएका छन्।
गत आर्थिक वर्षमा कार्यालयका लागि एक अर्ब ५१ करोड १४ लाख ७८ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो। त्यसमध्ये एक अर्ब पाँच करोड ४५ लाख ६४ हजार ५४० रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ।

