Nepal Purbadhar

पिलुवा सबस्टेशनमा काम गर्ने क्रममा प्राविधिक समस्या, काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा विद्युत् अवरुद्ध


काठमाडौं | पिलुवा सबस्टेशनमा नयाँ १३२/३३ केभी, १०० एमभीए पावर ट्रान्सफर्मर जडान गर्ने कार्यका लागि साँझको समयमा काम भइरहेको अवस्थामा लाइट जडान गर्ने क्रममा १३२ केभी साइडमा तार पर्न गई १३२ केभी प्रणालीमा प्राविधिक समस्या उत्पन्न हुँदा काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा केही समय विद्युत् आपूर्ति अवरुद्ध भएको छ।
ठेकेदारका प्राविधिकहरूबाट ट्रान्सफर्मर जडानसम्बन्धी काम भइरहेको क्रममा उक्त घटना भएको हो। घटनाका कारण १३२ केभी प्रणालीमा Partial System Outage हुन पुगेको थियो। सोही घटनामा कार्यरत एक जना प्राविधिक घाइते हुनुभएको छ र उहाँको उपचार भइरहेको छ।

घटनापछि आवश्यक प्राविधिक व्यवस्थापन तथा प्रणाली पुनःस्थापनाका लागि सम्बन्धित प्राविधिक टोलीहरू तत्काल परिचालन गरिएको थियो। दुर्घटनाको अवस्था तथा आवश्यक प्राविधिक कार्यका कारण विद्युत् प्रणाली पुनःस्थापना गर्न केही समय लागेको र त्यसपछि विद्युत् आपूर्ति क्रमशः पुनःस्थापना गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
घटनाका कारण काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुन गएकोमा नेपाल विद्युत् प्राधिकरणले ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ। साथै, घटनामा घाइते हुनुभएका प्राविधिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उच्च भोल्टेज प्रणालीमा कार्य गर्दा आवश्यक सुरक्षा सावधानी, समन्वय तथा प्राविधिक सतर्कता अपनाउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।


Read Previous

म्याग्दीको फापरखेत पहिरोको विकल्पमा ७ करोड ५० लाख लागतमा पक्की पुल निर्माण गर्ने तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar