Nepal Purbadhar

ब्रड पिक हिमपहिरोमा निधन भएका पर्वतारोही पुरबहादुर गुरुङ ‘युक्ता’को शव नेपाल ल्याइयो


काठमाडौं। पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ ‘युक्ता’ को शव नेपाल ल्याइएको छ।

साउन १४ गते हिमपहिरोमा परेर मृत्यु भएका गुरुङको शव बिहीबार साँझ कतार एअरवेज मार्फत काठमाडौं ल्याइएको हो।

घटनापछि उद्धार तथा समन्वयका लागि पाकिस्तान पुगेका कीर्तिमानी आरोही निर्मल पुर्जाका व्यावसायिक साझेदार तथा प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पा गुरुङको शव लिएर नेपाल फर्किएका हुन्।

नेपाल पर्वतारोहण संघका अनुसार गुरुङको शव अन्तिम श्रद्धाञ्जलीका लागि आज नक्सालस्थित नेपाल पर्वतारोहण संघको सचिवालय मा राखिनेछ। त्यसपछि शुक्रबार बिहान ९ बजे स्वयम्भू मा अन्त्येष्टि गर्ने तयारी गरिएको छ।

गोरखाको लाप्राक निवासी गुरुङ नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश समितिका उपाध्यक्ष तथा मनाङ माउन्टेनियरिङ स्कुल समितिका सदस्य थिए। उनी पर्वतारोहण क्षेत्रमा अनुभवी र सक्रिय व्यक्तित्वका रूपमा परिचित थिए।

ब्रड पिक आरोहणका क्रममा आएको हिमपहिरोमा कीर्तिमानी आरोही निर्मल पुर्जा, पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा सहित ६ नेपाली तथा अन्य विदेशी आरोही गरी १० जनाको ज्यान गएको थियो।

निर्मल पुर्जाको परिवार बेलायतमा रहेकाले उनको अन्त्येष्टि त्यहीँ गर्ने तयारी भइरहेको जनाइएको छ। अन्य नेपाली पर्वतारोहीको शव भने पाकिस्तानमा आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि क्रमशः नेपाल ल्याइने बताइएको छ।


Read Previous

‘ब्लु बस’ महिलाको सुरक्षाका लागि हो विभाजन वा प्रचारको नीति होइन : मन्त्री सिता बादी

Read Next

नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar