
जनकपुरधाम। यातायात व्यवस्था कार्यालय जनकपुरधाम, धनुषाले आर्थिक वर्ष २०८२/८३ मा ५७ करोड १५ लाख ३० हजार ६३६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। नयाँ सवारी दर्ता, नवीकरण तथा सवारीचालक अनुमतिपत्र वितरणलगायतका सेवाबाट उक्त राजस्व उठेको कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख वासुदेव मल्लका अनुसार यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ९ करोड ५४ लाख १३ हजार ३४४ रुपैयाँ कम हो। अघिल्लो आर्थिक वर्षमा कार्यालयले ६६ करोड ६९ लाख ४३ हजार ९८० रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।
राजस्व सङ्कलनमा आएको गिरावटको कारणका रूपमा गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलन तथा आर्थिक वर्षको अन्तिम महिनामा यातायात व्यवस्था विभागको नयाँ सफ्टवेयर कार्यान्वयनमा भएको ढिलाइलाई कार्यालयले औँल्याएको छ।
२१ हजारभन्दा बढी नयाँ सवारी दर्ता
कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल २१ हजार २९४ ओटा नयाँ सवारीसाधन दर्ता भएका छन्। दर्ता भएका सवारीमध्ये मोटरसाइकल: १६,९५७ ओटा, बस/ट्रक: १८७ ओटा, टेम्पो/विद्युतीय रिक्सा: १,९०२ ओटा, ट्याक्टर: १,०२२ ओटा र जिप/कार: २२६ ओटा रहेका छन्।
यस्तै, सोही अवधिमा नयाँ तथा वर्ग थपसहित १३ हजार ३३८ जनालाई सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरिएको कार्यालयले जनाएको छ।
