
काठमाडौं। काठमाडौं उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई सुरक्षित, व्यवस्थित र दिगो बनाउने लक्ष्यसहित दीर्घकालीन यातायात गुरुयोजना सार्वजनिक गरिएको छ। योजनामा मास ट्रान्जिट प्रणाली, अन्डरपास, भूमिगत सुरुङ, आकासे पुल, नयाँ पुल, साइक्लिङ पथ, पार्किङ तथा सडक स्तरोन्नतिलगायतका महत्वाकांक्षी पूर्वाधार परियोजना समावेश गरिएको छ।
‘जीवन्त र सांस्कृतिक काठमाडौं उपत्यकाका लागि दिगो, सुरक्षित र समावेशी यातायात गुरुयोजना’ सार्वजनिक कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ्ग थापाले उपत्यकाको पूर्व-पश्चिम तथा उत्तर-दक्षिण यातायात सञ्जाललाई सुदृढ बनाउन विशेष ध्यान दिनुपर्ने बताए।
उनका अनुसार काठमाडौंको पूर्व र पश्चिम क्षेत्रलाई प्रभावकारी रूपमा जोड्ने नयाँ पूर्वाधार निर्माण तथा विशेषगरी उत्तर-पूर्वी क्षेत्रबाट वैकल्पिक मार्ग विस्तार र प्रमुख चोकहरूको पुनःसंरचनाले भविष्यमा ट्राफिक व्यवस्थापनलाई सहज बनाउनेछ।
थापाले बढ्दो सहरीकरण र सवारीसाधनको चापलाई ध्यानमा राख्दै दीर्घकालीन सोचसहित पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिँदै गुरुयोजना कार्यान्वयनमा आएपछि उपत्यकामा देखिएका ट्राफिक जाम, सडक व्यवस्थापन र सार्वजनिक यातायातका समस्या क्रमशः समाधान हुने विश्वास व्यक्त गरे।
पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालका अनुसार गुरुयोजनामा २२ वटा पूर्वाधार विकास कार्यक्रम र १३ वटा सार्वजनिक यातायात सुधार कार्यक्रम प्रस्ताव गरिएको छ।
उनले योजना पूर्ण रूपमा कार्यान्वयन भएपछि सन् २०५० सम्म काठमाडौं उपत्यकाको यातायात प्रणालीलाई सुरक्षित, व्यवस्थित र दिगो बनाउने लक्ष्य राखिएको जानकारी दिए।
गुरुयोजनामा चक्रपथमा मास ट्रान्जिट प्रणाली, रत्नपार्कदेखि भक्तपुरसम्म उच्च क्षमतायुक्त सार्वजनिक यातायात सेवा, पूर्व-पश्चिम जोडमार्ग विस्तार तथा आवश्यक स्थानमा नयाँ मास ट्रान्जिट विकल्प विकास गर्ने योजना समेटिएको छ।
सार्वजनिक यातायातलाई यात्रुमैत्री बनाउन कम्पनी मोडलमा सञ्चालन, रुट व्यवस्थापन तथा संस्थागत सुधारलाई पनि प्राथमिकता दिइएको छ।
योजनाअन्तर्गत विष्णुमती, धोबीखोला र ग्वार्कोमा नयाँ पुल निर्माण, ठमेल, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका क्षेत्रका दरबार आसपास कार पार्किङ, साइक्लिङ पथ, ट्राफिक सुरक्षा, सडक चोक स्तरोन्नति, आपत्कालीन सडक सञ्जाल विकास तथा चक्रपथ बाहिर पार्किङ सुविधाको विस्तार गर्ने प्रस्ताव गरिएको छ।
गुरुयोजनाले महाराजगञ्ज तथा चाबहिल-गौशाला क्षेत्रमा भूमिगत मार्ग (अन्डरपास) निर्माण गर्ने योजना अघि सारेको छ।
त्यस्तै चाबहिल-बागमती र त्रिपुरेश्वर-माइतीघरमा आकासे पुल, विष्णुमती नदी किनारमा रिभरसाइड सडक, सातदोबाटो-गोदावरी जोड्ने कर्मनाशा पुल, चौडा चक्रपथ, थापाथली-त्रिपुरेश्वर क्षेत्रमा नयाँ पुल तथा बागमती करिडोर स्तरोन्नति पनि योजनामा समावेश छन्।
मुख्य ट्राफिक जाम हुने क्षेत्रमा अन्डरपास, भूमिगत सुरुङ, आकासे सडक तथा ठूला बसको एकीकृत सञ्चालनमार्फत दीर्घकालीन रूपमा ट्राफिक समस्या समाधान गर्ने लक्ष्य राखिएको छ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को प्राविधिक टोलीले तीव्र सहरीकरण, बढ्दो सवारी चाप र पूर्वाधारमा बढ्दो लगानीलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न दीर्घकालीन तथा समग्र यातायात योजना आवश्यक रहेको जनाएको छ।
पूर्वाधार विकास मन्त्रालयको संयोजकत्वमा तयार गरिएको गुरुयोजनाले एकीकृत, दक्ष, सुरक्षित तथा वातावरणमैत्री सहरी यातायात प्रणाली विकासका लागि दीर्घकालीन रणनीतिक मार्गदर्शन प्रदान गर्ने विश्वास गरिएको छ।
