Nepal Purbadhar

बाढीले क्षति पुर्‍याएपछि इवा खोला जलविद्युत आयोजना तीन सातादेखि बन्द, मर्मत प्रयास पनि असफल


काठमाडौं । पाँचथरस्थित ९.९ मेगावाट क्षमताको इवा खोला जलविद्युत आयोजना बाढी र पहिरोबाट क्षति पुगेपछि तीन साताभन्दा बढी समयदेखि बन्द रहेको छ। आयोजना पुनः सञ्चालनमा ल्याउने प्रारम्भिक प्रयास पनि असफल भएको आयोजनाले जनाएको छ।

आयोजनाको प्रवर्द्धक रिडी पावरका अनुसार अविरल वर्षापछि आएको बाढी तथा पहिरोले हेडरेस पाइपलाइन रहेको क्षेत्रमा नदी कटान गराउँदा पाइपलाइनका आधार संरचना र अन्य सिभिल संरचनामा क्षति पुगेको हो।

कम्पनीका अनुसार निरन्तर वर्षाका कारण पाइपलाइनमुनिको भूभागमा भूक्षय हुँदा विभिन्न स्थानमा पाइप फुट्ने तथा चिरा पर्ने समस्या देखिएको थियो। आवश्यक मर्मतपछि आयोजना पुनः सञ्चालनमा ल्याउने प्रयास गरिए पनि परीक्षणका क्रममा फेरि विभिन्न स्थानमा पाइपलाइनमा क्षति भेटिएको कम्पनीले जनाएको छ।

कम्पनीले विस्तृत प्राविधिक मूल्यांकनपछि सामान्य मर्मत वा वेल्डिङ गरेर मात्रै आयोजना सुरक्षित रूपमा सञ्चालन गर्न सम्भव नरहेको निष्कर्षमा पुगेको जनाएको छ।

आयोजनाबाट असार २६ गतेदेखि विद्युत् उत्पादन बन्द भएको छ। हाल स्थायी समाधानका लागि आवश्यक प्राविधिक अध्ययन तथा मर्मत कार्य अगाडि बढाइएको कम्पनीले जनाएको छ।


Read Previous

नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा, सतर्कता अपनाउन यात्रुलाई आग्रह

Read Next

विराटनगरमा उद्योगी मुन्दडाको घरमा प्रहरी छापा, हात लाग्यो शून्य, किन भइरहेको छ व्यवसायी तर्साउने काम ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar