
चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा आइतबार बिहान खसेको पहिरो पन्छाएपछि सडक दुवैतर्फी रूपमा सञ्चालनमा आएको छ।
आज बिहान तुइनखोला, नाम्सी खोला, सिमलताल, १५ किलो र १७ किलो क्षेत्रमा लेदोसहितको पहिरो खसेपछि केही स्थानमा सडक एकतर्फी अवरुद्ध भएको थियो भने अन्य स्थानमा सडकको छेउमा लेदो थुप्रिएको थियो।
डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनखोला, नाम्सी खोला र सिमलताल क्षेत्रमा पहिरोका कारण एकतर्फी मात्र सवारी सञ्चालन गरिएको थियो। पहिरो हटाउने काम सम्पन्न भएपछि बिहान १० बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो।
तुइनखोलामा खसेको पहिरो त्यहाँ निर्माणको जिम्मा लिएको कम्पनीले आफैं पन्छाएको छ भने अन्य स्थानमा मुग्लिन र सेतीदोभानमा रहेका उपकरण प्रयोग गरेर सडक खुलाइएको घिमिरेले जानकारी दिए।
यद्यपि, सडक क्षेत्रमा अझै सिमसिम वर्षा भइरहेकाले जुनसुकै बेला पुनः पहिरो खस्न सक्ने जोखिम रहेको छ। सडक कार्यालयले सवारी चालक र यात्रुलाई आवश्यक सतर्कता अपनाएर मात्रै यात्रा गर्न आग्रह गरेको छ।
