काठमाडौं । नेपाल विद्युत् प्राधिकरण धरान वितरण केन्द्रको सवारी साधन सुनसरीमा दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक जना कर्मचारी घाइते भएका छन्।
धरान–इटहरी कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुल नजिक सोमबार राति करिब ११ः३० बजे बा१ञ १६५१ नम्बरको स्कारपियो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
दुर्घटनामा गाडी चालक धरान–१३ का बिर्ख राई र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी धरान–१६ का सुमन आचार्य गम्भीर घाइते भएका थिए। उनीहरूलाई तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको भए पनि राति करिब १२ः४५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।
दुर्घटनामा घाइते भएका धरान–२० का पदम राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
