Nepal Purbadhar

अत्यावश्यक परे मात्रै पासपोर्टको आवेदन दिन विभागको आग्रह, नयाँ प्रणाली सञ्चालनमा

फाईल तस्वीर


नयाँ राहदानी प्रणाली सञ्चालनमा आएपछि प्रारम्भिक चरणमा सामान्य प्राविधिक चुनौती आउन सक्ने, करिब एक करोड नागरिकको विवरण नयाँ प्रणालीमा स्थानान्तरण

काठमाडौं। राहदानी विभागले नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली सञ्चालनमा आएसँगै अत्यावश्यक परे मात्रै राहदानीका लागि आवेदन दिन सेवाग्राहीसँग आग्रह गरेको छ।

विभागले सोमबार जारी गरेको सूचनामा नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गर्दै करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको जनाएको छ। नयाँ प्रणाली २०८३ असार २९ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।

विभागका अनुसार यति ठूलो सूचना प्रविधि प्रणाली कार्यान्वयनको सुरुआती चरणमा प्रणाली सुस्त हुने, केही प्राविधिक चुनौती देखिने तथा राहदानी वितरणमा सामान्य ढिलाइ हुन सक्ने अवस्था स्वाभाविक हो। ती समस्या समाधानका लागि विभागका प्राविधिक टोली, कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञ चौबीसै घण्टा प्रणालीको अनुगमन, परीक्षण र सुधारमा खटिएका छन्।

विभागले नयाँ प्रणालीलाई थप स्थिर र प्रभावकारी बनाउन प्रारम्भिक चरणमा अत्यावश्यक परेका सेवाग्राहीलाई मात्रै राहदानी आवेदन दिन अनुरोध गरेको छ। यसले प्रणालीको कार्यसम्पादनलाई व्यवस्थित बनाउन सहयोग पुग्ने विभागको विश्वास छ।

साथै, राहदानी सेवासम्बन्धी सूचना प्राप्त गर्दा विभाग वा परराष्ट्र मन्त्रालयका आधिकारिक माध्यमबाट प्रकाशित सूचना तथा समाचारलाई मात्रै आधार बनाउन पनि विभागले आग्रह गरेको छ।

राहदानी विभागले नयाँ प्रणालीमार्फत नेपाली नागरिकलाई थप चुस्त, छरितो र विश्वसनीय सेवा प्रदान गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ।


Read Previous

ऊर्जा विकासका लागि बहुआयामिक वित्तीय औजार अपरिहार्य : परम्परागत लगानी प्रणालीले लक्ष्य भेट्न कठिन

Read Next

काठमाडौंका मिडिया हाउस अगाडी शंकास्पद गाडी पार्किङ: कान्तिपुर अगाडिको क्रेन लगाएर उठाइयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar