
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि स्टल बाँडफाँड प्रक्रिया सम्पन्न गरेको छ। एक्स्पो आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ।
नाइमाका अनुसार एक्स्पोमा सहभागी चार पांग्रे, दुई पांग्रे तथा व्यावसायिक सवारी साधन क्षेत्रका ४९ ब्रान्डका लागि पूर्वनिर्धारित तथा पारदर्शी चिठ्ठा प्रक्रियामार्फत ४९ वटा स्टल बाँडफाँड गरिएको छ। तीमध्ये २६ वटा स्टल चार पांग्रे सवारी साधन ब्रान्डलाई तथा २३ वटा स्टल दुई पांग्रे र व्यावसायिक सवारी साधन ब्रान्डलाई उपलब्ध गराइएको छ।

स्टल बाँडफाँड कार्यक्रममा बोल्दै नाइमा अध्यक्ष रितु सिंह वैद्यले नाइमा नेपाल मोबिलिटी एक्स्पो देशकै सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा स्थापित हुँदै गएको बताइन्। उद्योग क्षेत्रबाट प्राप्त उत्साहजनक सहभागिताले यसको महत्व थप पुष्टि गरेको उनको भनाइ थियो।
उनले एक्स्पोलाई केवल सवारी साधन प्रदर्शनीमा सीमित नराखी नेपालमा आधुनिक, दिगो र सर्वसुलभ गतिशीलता प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा विकास गर्ने नाइमाको लक्ष्य रहेको बताइन्। प्रारम्भिक चरणमा उपलब्ध सबै स्टल सुनिश्चित भइसकेको जानकारी दिँदै उनले निर्धारित समयसीमा सकिएपछि पनि केही कम्पनीबाट सहभागिताका लागि अनुरोध प्राप्त भइरहेको जानकारी दिइन्। उपलब्ध स्थान र सम्भावनाको मूल्याङ्कन गरी विशेषगरी नाइमा सदस्य कम्पनीलाई प्राथमिकता दिँदै यस्ता अनुरोध सम्बोधन गर्ने प्रयास गरिने उनले बताइन्।

नाइमा नेपाल मोबिलिटी एक्स्पो योजना समितिका अध्यक्ष गौरव शारदाले ४९ ब्रान्डको सहभागितासहित स्टल बाँडफाँड सम्पन्न हुनु प्रदर्शनीप्रति उद्योग क्षेत्रको विश्वास, उत्साह र बढ्दो आकर्षणको संकेत भएको बताए। उनले यस वर्षको एक्स्पो नेपालकै सबैभन्दा ठूलो तथा प्रभावशाली मोबिलिटी प्रदर्शनीका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे।
नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले स्टल बाँडफाँड प्रक्रिया पूर्ण रूपमा पारदर्शी, निष्पक्ष र पूर्वनिर्धारित मापदण्डअनुसार सम्पन्न गरिएको बताए। उनले नेपालका अधिकांश प्रमुख सवारी साधन ब्रान्डको सहभागितासहित एक्स्पोको तयारी सहभागी कम्पनी, साझेदार संस्था तथा अन्य सरोकारवालासँगको सहकार्यमा व्यवस्थित रूपमा अघि बढिरहेको जानकारी दिए।

एक्स्पोमा चार पांग्रे सवारीतर्फ बीवाईडी, हुन्डाई, किया, टाटा, टोयोटा, महिन्द्रा, निसान, एमजी, जीक्र लगायतका ब्रान्ड सहभागी हुनेछन्। यस्तै दुई पांग्रेतर्फ बजाज, होन्डा, केटीएम, रोयल एनफिल्ड, सुजुकी, टीभीएस, ट्रायम्फ, अथर, याडेआ लगायतका ब्रान्डको सहभागिता रहनेछ। व्यावसायिक सवारी साधनतर्फ चेरी वान्डा, क्यारी, कीटन र स्काईवर्थ सहभागी हुनेछन्।
नाइमाका अनुसार एक्स्पोमा सवारी साधन, मोबिलिटी समाधान, प्रविधि तथा नवप्रवर्तनका नवीनतम प्रवृत्ति प्रदर्शन गरिनेछ। साथै नयाँ उत्पादन सार्वजनिकरण, अत्याधुनिक प्रविधिको प्रदर्शन तथा ज्ञानमूलक सत्रहरू पनि आयोजना गरिनेछन्।
