Nepal Purbadhar

४२ कर्मचारी सहित ४९ जना अझै सम्पर्कविहीन, त्रिशूली-३एमा उद्धारका लागि टनेलबाट बाटो बनाइँदै


काठमाडौं। जटिल भौगोलिक अवस्था र प्रतिकूल मौसमका बीच नेपाल विद्युत् प्राधिकरणले त्रिशूली-३ए जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा कामदारको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएको जनाएको छ।

प्राधिकरणका अनुसार मंगलबार दिउँसो १ बजेसम्म त्रिशूली नदीको सतह पहिलेको तुलनामा निकै बढेको छ। ढुंगा, बालुवा र माटो थुप्रिँदा आयोजनाको मुख्य टनेल प्रवेशमार्ग तथा पावर हाउस क्षेत्र पुरिएको छ।

पावर हाउससम्म पुग्न विभिन्न उपकरण प्रयोग गरी टनेलबाट प्रवेश गर्ने बाटो बनाउने काम भइरहेको प्राधिकरणले जनाएको छ। बाटो निर्माणका क्रममा ठूला ढुंगा भेटिएपछि ब्लास्ट गरी हटाउने कामसमेत भइरहेको छ।

टनेलको मुख खोलाको सतहभन्दा तल रहेकाले टनेल तथा निर्माण गरिएको प्रवेशमार्गमा जम्मा भएको पानी पम्पिङ गरी बाहिर निकाल्ने डिवाटरिङ (Dewatering) कार्य पनि जारी छ।

प्राधिकरणले आफ्ना सम्पूर्ण स्रोतसाधन अधिकतम रूपमा परिचालन गरी खोज तथा उद्धार कार्य चौबिसै घण्टा सञ्चालन गरिरहेको जनाएको छ।

४९ जना कर्मचारी तथा कामदार सम्पर्कविहीन

प्राधिकरणका विभिन्न जलविद्युत् केन्द्र, वितरण केन्द्र, ग्रिड सबस्टेसन तथा प्रसारण लाइन आयोजनाबाट प्राप्त विवरणअनुसार कुल ४९ जना कर्मचारी तथा कामदारसँग सम्पर्क स्थापित हुन सकेको छैन।

सम्पर्कविहीन हुनेमा देवीघाट जलविद्युत् केन्द्रमा कार्यरत एक सुरक्षा गार्ड, त्रिशूली जलविद्युत् केन्द्रका एक कर्मचारी र दुई सुरक्षा गार्ड, माथिल्लो त्रिशूली-३ए जलविद्युत् केन्द्रका ४२ कर्मचारी तथा कामदार, रसुवा वितरण केन्द्रका एक कामदार, त्रिशूली-३बी हब २२० केभी सबस्टेसनका एक सुरक्षा गार्ड र चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाका एक कर्मचारी छन्।

प्राधिकरणले उनीहरूको खोजी तथा उद्धारका लागि अभियान निरन्तर सञ्चालन भइरहेको जनाएको छ।


Read Previous

संसदमा प्रधानमन्त्री: रसुवा बाढीपछि सरकारले के गर्‍यो ? संसद्मा सुनाए १० दिनका काम

Read Next

कान्ति र त्रिभुवन राजपथ हुँदै ग्यास ल्याइने, २०० ट्रक पठाईने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar