
काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी पर्वका अवसरमा पशुपतिस्थित गुहेश्वरी गौरीघाटमा महिलाहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा तथा आराधना गरेका छन्।
ऋषिपञ्चमीका दिन महिलाहरू बिहानै उठेर स्नान गरी हरितालिका तीजको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गर्ने गर्छन्। त्यसपछि नदी, खोला, ताल, तलैया तथा पोखरीमा गई ३६५ ओटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो तथा खरानी लगाएर स्नान गर्ने धार्मिक परम्परा रहेको छ।

यस अवसरमा महिलाहरूले कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ ऋषिको पूजा तथा स्मरण गर्ने गर्छन्। अरुन्धतीसहित सप्तऋषिको पूजा गरी वर्षभरि जान-अन्जानमा भएका धार्मिक त्रुटिको प्रायश्चित गर्ने धार्मिक विश्वास छ।
ऋषिपञ्चमीका अवसरमा गुहेश्वरी गौरीघाटमा बिहानैदेखि महिलाहरू पूजा, आराधना तथा दर्शनका लागि पुगेका थिए। पर्वका कारण गौरीघाट क्षेत्र भक्तिमय बनेको थियो।

तस्बिर : नेपाल फोटो लाइब्रेरी
