Nepal Purbadhar

पीक आवरमा भारतले बिजुली नदिने, नेपालमा लोडसेडिङको चिन्ता बढेको हो ?


काठमाडौं । भारतले सुक्खायाममा पीक आवरमा बिजुली नदिने भएको छ ।

बाढीले जलविद्युत आयोजनाहरु क्षतिग्रस्त भएपछि सुक्खायामको जोहो गर्न नेपाल विद्युत प्राधिकरणले भारसंग अनुमति मागेको थियो ।प्राधिकरणले पीक आवरका लागि अनुमति मागेको हो । करिब ४०० मेगावाट बिजुली बाढीका कारण क्षतिग्रस्त बनेपछि प्राधिकरणले भारतसंग आयातको अनुमति मागेको हो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठले १८ घण्टाका लागि आयातको अनुमति पाएको बताए । ‘पीक आवरमा हामीलाई व्यवस्थापन गर्न कठिन हो । त्यो आवरमा नपाइने भयो । हामीले जलाशय र अर्ध जलाशय प्रकृतिका आयोजना अरु समयमा बन्द राखेर पीक आवरमा चलाउने नीति लिएका छौं,’ उनले भने, ‘सक्दो ग्राहकहरुले खपत गर्नुपर्छ । हामी व्यवस्थापन गर्छौं ।’

उनका अनुसार सुक्खायाममा लोडसेडिङ नै गर्नुपर्ने अवस्था भने छैन। भारतको ऊर्जा मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत् नेपाललाई आउँदो डिसेम्बर ३१ तारिख अर्थात् आउँदो पुस १६ गतेसम्म राति १२ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत् उपलब्ध गराउने निर्णय भएको जनाएको छ।

मुजफ्फरपुर-ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत अधिकतम ६०० मेगावाट र टनकपुर-महेन्द्रनगर १३२ केभी सिङ्गल सर्किट प्रसाइनमार्फत ५४ मेगावाट विद्युत् उपलब्ध गराइनेछ ।

भारतले सन् २०२७ जनवरीदेखि हुने विद्युत् निर्यात भने सन् २०२६ डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ। भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण जलविद्युत् आयोजनाका पूर्वाधारमा ठूलो असर परेको छ ।

भारतले यो कठिन अवस्थामा नेपाललाई सहयोग गरेको देखाउन १८ घण्टा बिजुली दिन लागेको हो ।


Read Previous

चिलिमे सुरुङमा उद्धार प्रयास निरन्तर, १५०-१६० मिटर भाग जलमग्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar