Nepal Purbadhar

रास्वपाको बागमती प्रदेश अधिवेशनमा मतदान शुरू


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान शुरू भएको छ। धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा विद्युतीय मतदान मेसिनमार्फत मतदान भइरहेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार मतदान निर्धारित समयभन्दा केही ढिलो गरी शुरू भएको हो। साँझ ५ बजेसम्म मतदान सञ्चालन गर्ने कार्यतालिका रहे पनि मतदाताको चापलाई ध्यानमा राख्दै आवश्यक परे मतदानको समय थप गरिने जनाइएको छ।

निर्वाचन आयोगले मतदाता तथा प्रतिनिधिलाई मतदानस्थलमा प्रवेश गर्न र मतदान प्रक्रियामा सहभागी हुन पार्टीले जारी गरेको आधिकारिक फोटोसहितको परिचयपत्र र लेभी बुझाएको प्रमाणपत्र अनिवार्य रूपमा साथमा ल्याउन आग्रह गरेको छ।

यसअघि गत जेठ २६ गते हेटौँडामा शुरू भएको बागमती प्रदेश अधिवेशन प्राविधिक तथा व्यवस्थापकीय कारण देखाउँदै स्थगित गरिएको थियो। त्यसपछि निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी पूरा गरी शनिबार मतदान प्रक्रिया अघि बढाइएको हो।

आयोगका अनुसार अधिवेशनअन्तर्गत निर्वाचन प्रक्रियासम्बन्धी सबै प्राविधिक कार्य सम्पन्न भइसकेका छन्। निर्वाचन टोलीले मतदाता नामावली प्रमाणीकरण, समायोजन सूची व्यवस्थापन तथा विद्युतीय मतदान प्रणालीको प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ।

बागमती प्रदेशमा एक हजारभन्दा बढी मतदाता रहेका छन्। प्रदेश नेतृत्व चयनका लागि भइरहेको मतदानलाई रास्वपाभित्रको महत्त्वपूर्ण आन्तरिक लोकतान्त्रिक अभ्यासका रूपमा हेरिएको छ।

रास्वपाले आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा राष्ट्रिय महाधिवेशन आयोजना गर्ने तयारी गरिरहेको छ। प्रदेश अधिवेशनबाट चयन हुने नेतृत्वले राष्ट्रिय महाधिवेशनअघि संगठनलाई थप सुदृढ बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ।


Read Previous

ग्लोबल आईएमई बैंकको सञ्चालक समितिमा पूर्वसचिव बिन्द्रा हाडा भट्टराई नियुक्त

Read Next

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित, ३५४ जना नियमित औषधि सेवनमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar