
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि दुई प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ। वरिष्ठ उपाध्यक्ष पदमा उत्तम लामा र बलराम खतिवडाले आ–आफ्नो समूहसहित उम्मेदवारी दर्ता गराएका छन्।
आज जेठ २९ गते हुने साधारणसभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ। वर्तमान वरिष्ठ उपाध्यक्ष मोहन डाँगी अध्यक्षमा निर्विरोध हुने निश्चित भइसकेको छ। आगामी महाधिवेशन देखि वरिष्ठ नै स्वत:अध्यक्ष हुने प्रावधान हटाईदै छ यस्तो अवस्थामा वरिष्ठ उपाध्यक्ष पदको प्रतिस्पर्धाले विशेष चासो पाएको छ।

निर्वाचनमा दुवै पक्षले पूर्ण प्यानलसहित उम्मेदवारी दिएका छन्। यद्यपि चुनावी प्रतिस्पर्धा भए पनि ऊर्जा व्यवसायीहरूबीच सौहार्दपूर्ण वातावरण कायम रहेको देखिएको छ। दुवै समूहले संस्थाको हित, ऊर्जा क्षेत्रको विकास र सदस्यहरूको साझा हितलाई केन्द्रमा राखेर प्रचार–प्रसार गरिरहेका छन्।
उत्तम लामाको नेतृत्वमा रहेको प्यानलले वरिष्ठ उपाध्यक्षमा लामासहित उपाध्यक्ष पदमा उत्तरकुमार श्रेष्ठ, सुशन कर्माचार्य, हिम पाठक, विक्रम विष्ट र नरेन्द्र बल्लभ पन्तलाई उम्मेदवार बनाएको छ। महासचिवमा टीएन आचार्य, उपमहासचिवमा कविता पोखरेल, कोषाध्यक्षमा शंकर बस्याल तथा सचिवमा कुबेरमणि नेपाल, अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, सुमन जोशी र विजयमोहन भट्टराई उम्मेदवार छन्। सदस्य पदमा अनुप आचार्य, जगत पोखरेल, कदम केसी, प्रतिम ज्ञवाली, वर्णन लामिछाने, नारायण खनाल, ज्योति गैरे, सोमनाथ कडेल र सरिता शाक्य प्रधान प्रतिस्पर्धामा छन्।
यता बलराम खतिवडा नेतृत्वको प्यानलमा उपाध्यक्ष पदका लागि भरतबहादुर खत्री, भरतप्रसाद नेपाल, कुमार खरेल, इन्जिनियर दीपक पौडेल तथा महिला उपाध्यक्षतर्फ सिर्जना खड्का उम्मेदवार छन्। महासचिवमा प्रकाशचन्द्र दुलाल, कोषाध्यक्षमा इन्जिनियर मिथुन पौडेल तथा सचिवमा कृष्णप्रसाद घिमिरे, ताराबहादुर लिम्बु, इन्जिनियर वीरेन्द्रबहादुर मल्ल, संगीता धमला र ईशा श्रेष्ठ रहेका छन्। सदस्य पदमा सोमनाथ कडेल, डा. भूषण गुरागाईं, सन्तोषराज नेपाल, मिलन खड्का, जगदीश शिवाकोटी, सीए नारायण कडेल, सुकुन्द ओझा, ज्योति गैरे, इन्दिरा पन्त र प्रदीप ओली उम्मेदवार बनेका छन्।
दुवै समूहले संस्थालाई अझ प्रभावकारी, परिणाममुखी र ऊर्जा क्षेत्रको साझा आवाज बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। ऊर्जा क्षेत्रका लगानीकर्ता तथा व्यवसायीहरूको बाक्लो सहभागिता रहने अपेक्षा गरिएको यस निर्वाचनलाई इप्पानको भावी नेतृत्व र नीतिगत दिशाको निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

