
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले केन्द्रीय अनुसन्धान ब्युरो (CIB) लाई अझ सुदृढ बनाउने र छानबिनमा रहेका सबै अनुसन्धान प्रक्रियालाई टुंगोमा पुर्याउने निर्णय गरेका छन् । उनले सबै पुराना तथा रोकिएका फाइलहरू पुनः खोल्ने पनि बताएका छन् ।
गृह मन्त्रालय सम्हाल्दै उनले २०५८ सालको दरबार हत्याकाण्डसम्बन्धी फाइल पुनः खोल्ने निर्णय भएको जानकारी दिए । उक्त घटनाको अनुसन्धानलाई फेरि विस्तृत रूपमा अध्ययन गर्ने तयारी भएको उनले बताए ।
त्यस्तै, हालैको जेन–जी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दा फिर्ता लिने विषयमा पनि अध्ययन गर्ने निर्णय गरिएको छ । ती मुद्दाहरूको कानुनी आधार र परिस्थितिको समीक्षा गरेर मात्र अन्तिम निर्णय लिइने मन्त्रालयले जनाएको छ ।
पदभार ग्रहणपछि मन्त्री गुरुङले आफू माथि जस्तोसुकै आरोप आए पनि सहन सक्ने तर नेपाली चेलीहरूलाई दुःख दिने विषय सहन नसक्ने बताए । उनले आफूमाथि तथ्य बिना आरोप लगाइएको दाबी पनि गरे ।
उनले मिडिया ट्रायलका कारण कुनै पनि व्यक्ति आत्महत्या गर्ने अवस्था आउन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याए ।
