
काठमाडौं । अब निजामती कर्मचारीहरूले प्रदेशस्तरमै निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल, काठमाडौं) सरहको स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने भएका छन्। सरकारले सेवा विस्तारको नीति अनुसार प्रदेश अस्पतालहरूबाटै कर्मचारीलाई स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन शुरू गरेको हो।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार निजामती कर्मचारी अस्पतालको सेवा प्रदेशस्तरसम्म विस्तार गर्ने उद्देश्यसहित विभिन्न प्रदेश अस्पतालहरूसँग सम्झौता गर्दै सेवा सञ्चालन अघि बढाइएको छ।
मन्त्रालयले निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी तथा उनीहरूको आश्रित परिवारलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित प्रदेश अस्पतालहरूलाई सेवा प्रदायकका रूपमा समेट्दै आएको जनाएको छ।
यसैक्रममा सोमबार गण्डकी अस्पताल, पोखरासँग पनि सम्झौता भएको छ। सम्झौतासँगै गण्डकी प्रदेशका निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी तथा उनीहरूको आश्रित परिवारले अब निजामती कर्मचारी अस्पतालले उपलब्ध गराउँदै आएको छुट तथा सहुलियतसहितको स्वास्थ्य सेवा प्रदेशमै प्राप्त गर्न सक्ने भएका छन्।
सेवा लिनका लागि निजामती कर्मचारी वा अवकाशप्राप्त कर्मचारीसँग निजामती कर्मचारी अस्पतालद्वारा जारी आधिकारिक परिचयपत्र अनिवार्य हुने मन्त्रालयले जनाएको छ।
यसअघि नै मधेस प्रदेशका लागि नारायणी अस्पताल, वीरगञ्ज र बागमती प्रदेशका लागि भरतपुर अस्पताल, चितवनसँग सम्झौता भइसकेको छ। ती दुवै अस्पतालमार्फत निजामती कर्मचारी स्वास्थ्य सेवा आजदेखि नै सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार मधेस, बागमती र गण्डकीपछि अन्य प्रदेशहरूमा समेत सेवा विस्तार गर्ने तयारी भइरहेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँगको समन्वयमा सेवा प्रदायक अस्पतालहरूको सूचीकरण प्रक्रिया सम्पन्न भइसकेको र आवश्यक तयारी पूरा भएपछि सबै प्रदेशमा सेवा विस्तार गरिनेछ।
काठमाडौँ उपत्यका बाहिर कार्यरत तथा बसोबास गर्ने निजामती कर्मचारी र उनीहरूको परिवारलाई लक्षित गर्दै प्रदेशमै स्वास्थ्य सेवा विस्तार गरिएको सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले बताएकी छन्।
