
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत् केन्द्रको शेयर स्वामित्व हस्तान्तरण तथा भविष्यको सञ्चालन–व्यवस्थापनसम्बन्धी विषयमा छलफल अघि बढाउन वार्ता समितिलाई पुनर्गठन गरेको छ।
प्राधिकरणका सञ्चालक समिति सदस्य अंशु किरण शाहीको संयोजकत्वमा समिति पुनर्गठन गरिएको हो। समितिले आयोजनाको शेयर स्वामित्व हस्तान्तरण, नयाँ विद्युत् खरिद सम्झौता (पीपीए), रोयल्टी तथा कर भुक्तानीलगायतका विषयमा प्रवर्द्धक कम्पनीसँग वार्ता गर्ने जिम्मेवारी पाएको छ।
खिम्ती जलविद्युत् आयोजना निर्माण, सञ्चालन, व्यवस्थापन तथा हस्तान्तरण (बुट) मोडलअन्तर्गत हिमाल पावर लिमिटेडले विकास गरेको हो। आयोजनाले २०५७ असार २७ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको थियो।
विद्यमान सम्झौताअनुसार आयोजनाले व्यावसायिक उत्पादन थालेको २० वर्षपछि यसको ५० प्रतिशत स्वामित्व नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गर्नुपर्ने व्यवस्था रहेको छ। तर विभिन्न कारणले उक्त प्रक्रिया हालसम्म पूरा हुन सकेको छैन। यससँगै आयोजनाबाट उत्पादित विद्युत्को नयाँ खरिद दर निर्धारण, रोयल्टी तथा करसम्बन्धी विषयहरू पनि टुंग्याउन बाँकी रहेको छ।
यसैबीच, प्राधिकरण सञ्चालक समिति सदस्य कृष्ण बसेलको संयोजकत्वमा प्रशासकीय पुनरावलोकन समिति पनि गठन गरिएको छ। उक्त समितिले विद्युत् महसुल, जरिवाना तथा प्रशासनिक निर्णयसँग सम्बन्धित विवादहरूको पुनरावलोकन तथा समाधानका लागि काम गर्नेछ।
सञ्चालक समितिको बैठकले प्राधिकरणमा रिक्त रहेका विभिन्न पदमा पदपूर्तिको प्रक्रिया अगाडि बढाउन प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशक शान्तिलक्ष्मी शाक्यलाई विज्ञ सदस्यका रूपमा नियुक्त गर्ने निर्णय समेत गरेको छ।

