
मनाङ। लघु जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्मा निर्भर रहँदै आएको हिमाली जिल्ला मनाङ अब पहिलोपटक राष्ट्रिय प्रसारण प्रणालीसँग जोडिने भएको छ। मनाङको नासोँ गाउँपालिका–८ र ९ मा निर्माणाधीन १३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाले जिल्लाको ऊर्जा क्षेत्रमा नयाँ अध्याय शुरू गर्ने अपेक्षा गरिएको छ।
मस्र्याङ्दी नदीको जलशक्तिलाई उपयोग गर्दै निर्माण भइरहेको यो आयोजना निजी क्षेत्रबाट निर्माण भइरहेका ठूला जलविद्युत् आयोजनामध्ये एक हो। ‘रन अफ रिभर’ प्रविधिमा आधारित आयोजनाले नदीको पानी बाँधमार्फत सङ्कलन गरी शुरूङबाट विद्युत्गृहसम्म पुर्याएर विद्युत् उत्पादन गर्नेछ।
जलाशययुक्त आयोजनाको तुलनामा रन अफ रिभर आयोजनाको निर्माण लागत कम, वातावरणीय प्रभाव तुलनात्मक रूपमा न्यून तथा निर्माण अवधि छोटो हुने भएकाले यस्ता आयोजनालाई प्राथमिकता दिइएको हो।
आयोजनाको ग्रस हेड ४३०.२० मिटर तथा हेडरेस शुरूङ ६.०७५ किलोमिटर लामो रहेको छ। कुल ३३ अर्ब ३८ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा २० प्रतिशत स्वपुँजी र ८० प्रतिशत ऋण लगानी रहनेछ। बुटवल पावर कम्पनीको २० प्रतिशत तथा तीन चिनियाँ कम्पनीको संयुक्त ८० प्रतिशत लगानी रहेको छ।
सरकार, बुटवल पावर कम्पनी र चिनियाँ लगानीकर्ताबीच २०७९ पुस ३ गते चार वर्षभित्र आयोजना निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो। आयोजनाबाट वार्षिक ७५ करोड ९ लाख ४८ हजार ८७५ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।
निर्माण कार्यअन्तर्गत पहुँच मार्ग, शुरूङ, बाँध, विद्युत्गृह तथा प्रसारण लाइन निर्माणको काम एकसाथ भइरहेको छ। हिमाली भूगोल, पहिरो, हिमपात तथा कठिन मौसमका कारण विभिन्न चुनौती देखिए पनि निर्माण कार्यलाई तीव्रता दिइएको आयोजना पक्षले जनाएको छ।
विशाल आकारका टर्बाइन, जेनेरेटर तथा अन्य उपकरण आयोजनास्थलसम्म पुर्याउन सडक स्तरोन्नति गर्नुपरेको बताइएको छ। शुरूङ निर्माणका क्रममा कमजोर चट्टान, पानी चुहिने समस्या तथा पहिरोका जोखिम देखिए पनि प्राविधिक टोलीले समाधान गर्दै निर्माणलाई निरन्तरता दिएको निर्देशक प्रधानले बताए।
आयोजनाले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न थालेको छ। निर्माण अवधिमा सयौँ स्थानीयले रोजगारी पाएका छन् भने यातायात, होटल, रेष्टुराँ तथा सेवा क्षेत्रमा आर्थिक गतिविधि बढेको छ। सडक पहुँच विस्तारसँगै स्थानीय उत्पादन बजारसम्म पुर्याउन सहज भएको छ।
स्थानीयवासीले आयोजनाबाट पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी तथा स्थानीय उत्पादनको बजारीकरणमा थप योगदान पुग्ने अपेक्षा गरेका छन्। चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार आयोजनाबाट प्राप्त हुने रोयल्टीलाई शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रमा प्रभावकारी रूपमा लगानी गर्न सके दीर्घकालीन विकासमा टेवा पुग्नेछ।
यद्यपि जलविद्युत् आयोजनाले वातावरणमा केही प्रभाव पार्न सक्ने भन्दै सरोकारवालाले सतर्कता अपनाउनुपर्ने बताएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङ एकाइका अनुसार नदीको प्राकृतिक बहावमा परिवर्तन हुँदा जलीय जैविक विविधतामा असर पर्न सक्ने भएकाले वातावरणीय प्रभाव मूल्याङ्कनअनुसार न्यूनीकरणका उपायहरू कार्यान्वयन गरिएको छ।
ऊर्जा उत्पादन, स्थानीय विकास र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने अपेक्षासहित निर्माण भइरहेको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना मनाङलाई राष्ट्रिय ऊर्जा सञ्जालसँग जोड्ने महत्वपूर्ण परियोजनाका रूपमा हेरिएको छ।
