
बौद्ध महोत्सव २०८३ जेठ २३ गते काठमाडौं महानगरपालिका वडा नं. ६, बौद्धस्थित महेन्द्र बौद्ध माध्यमिक विद्यालय, फूलबारी क्षेत्रमा आयोजना हुने भएको छ।
धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित “बौद्ध महोत्सव— हाम्रो संस्कृति, हाम्रो उत्सव” आयोजना गर्न लागिएको हो। यस महोत्सवले बौद्ध क्षेत्रको मौलिक पहिचान, स्थानीय कला, संस्कृति, व्यवसाय, युवा सहभागिता र सामुदायिक एकतालाई एउटै मञ्चमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ।
कार्यक्रममा सांस्कृतिक नृत्य, लाखे नाच, मौलिक झाँकी, स्थानीय हस्तकला, खाद्य स्टल र विविध सांगीतिक प्रस्तुति रहनेछन्। स्थानीयवासी, पर्यटक, कलाकार र संस्कृति प्रेमीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
पार्किङ, ट्राफिक व्यवस्थापन र सुरक्षा व्यवस्था विशेष रूपमा मिलाइनेछ। बौद्धको सांस्कृतिक पहिचान संरक्षण र पर्यटन प्रवर्द्धन यस महोत्सवको मुख्य उद्देश्य रहेको छ।

