
प्रतिनिधिसभामा बैठक ०८३/०२/१२/ मंगलवार।
काठमाडौं । प्रतिनिधिसभामा सांसदहरूले किसान, शिक्षा, स्वास्थ्य, पूर्वाधार, सुशासन तथा स्थानीय विकाससँग सम्बन्धित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद डा. अत्युत्तम लामिछानेले किसानको उत्पादन बजारसम्म ढुवानी गर्ने सवारीसाधनमा शून्य कर लागू गर्न आग्रह गरे । सांसद अनुस्का श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पसलहरूमा नेपाल चिनाउने स्थानीय उत्पादन बिक्री गर्ने व्यवस्था गर्न सुझाव दिइन् ।
सांसद अफ्साना बानुले सुशासनको माग गर्दै जेन–जी आन्दोलनका क्रममा पक्राउ परेका युवालाई झुटा आरोपमा थुनिएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । सांसद अभिषेकप्रताप शाहले कपिलवस्तुसहित तराईका जिल्लामा देखिएको खानेपानी समस्या समाधान गर्न माग गरे ।
सांसद अमरकान्त चौधरीले सप्तरीस्थित नेपाल–भारत सीमा भन्सारमा क्वारेन्टाइनको व्यवस्था गर्न आग्रह गरे भने सांसद अमरेशकुमार सिंहले उखु किसानको बाँकी बक्यौता र सरकारी अनुदान तत्काल वितरण गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद अमृता विकले खुला रूपमा भइरहेको मदिरा बिक्री व्यवस्थामा सुधार गर्नुपर्ने बताइन् । सांसद अम्बिकादेवी सङ्ग्रौलाले माइतीघर मण्डलामा अनशनरत नागरिकको माग सम्बोधन गर्न आग्रह गरिन् ।
सांसद अरबिन्द साहले आगामी आर्थिक वर्षका लागि धानको न्यूनतम मूल्य निर्धारण गरेकोमा सरकारलाई धन्यवाद दिँदै कृषि बीमा, मल, बीउ र सिँचाइको उचित व्यवस्था गर्न आग्रह गरे ।
सांसद अर्जुनकुमार कार्कीले सङ्खुवासभाको मकालु गाउँपालिकामा बाढीपहिरोले भेडा बगाएको भन्दै किसानलाई राहत दिन माग गरे । सांसद अर्जुननरसिंह केसीले पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान संशोधन आयोग गठन गर्न सुझाव दिए ।
सांसद अशोककुमार चौधरीले डिजिटल बैंकिङ सेवामा सुधार भए पनि डिजिटल वालेटको सुरक्षा मजबुत बनाउनुपर्ने बताए । सांसद आकृति अवस्थीले जेन–जी आन्दोलनका घाइतेहरूको उपचार सुनिश्चित गर्न माग गरिन् ।
सांसद आनन्दबहादुर चन्दले सुदूरपश्चिमको विकासमा विशेष ध्यान दिन आग्रह गरे भने सांसद आरेन राईले सुकुमबासीलाई जग्गा स्वामित्व दिने काम अघि बढाउन प्रश्न गरे ।
सांसद आशा झाले मल, बीउ र सिँचाइको व्यवस्था गर्न सरकारसँग आग्रह गरिन् । सांसद आशिका तामाङले वैदेशिक रोजगारीमा मृत्यु भएका युवाको शव तत्काल नेपाल ल्याउन माग गरिन् ।
सांसद इन्दिरा राना मगरले सुशासन कायम गर्न सरकारका प्रयासलाई सबैले सहयोग गर्नुपर्ने बताइन् । सांसद एलिजा गुरुङले गुम्बा विकास समिति खारेज गर्ने निर्णय फिर्ता लिन माग गरिन् ।
सांसद एशुदाकुमारी बरालले बस दुर्घटनामा घाइते भएकाहरूको निःशुल्क उपचार गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद ऐनबहादुर महरले बझाङमा सञ्चार र विद्युत समस्याको समाधान गर्न माग गरे ।
सांसद ओजस्वी शेरचनले सरकारी अस्पतालका उपकरण प्रयोगविहीन भएको भन्दै खरिद प्रक्रियामा सुधार गर्न सुझाव दिइन् । सांसद अङ्किता ठाकुरले बझाङमा खानेपानी र सडक समस्या समाधान गर्न आग्रह गरिन् ।
सांसद कन्हैया बनियाँले सन्तुलित विकासको योजनाको प्रशंसा गरे । सांसद कमल सुवेदीले गर्मी समयमा आगलागी बढेकाले अग्नि नियन्त्रणमा दक्ष जनशक्ति आवश्यक रहेको बताए ।
सांसद करिश्मा कठरियाले दार्चुलामा आधारभूत पूर्वाधार विकासको माग गरिन् । सांसद कामिनीकुमारीले सरकारको कामप्रति प्रतिपक्षले सदन अवरुद्ध गर्नु गलत भएको बताइन् ।
सांसद कालिबहादुर सहकारीले कालिकोटमा पहिरोले विद्यालयको खेलमैदान बगाएको भन्दै पुनर्निर्माण गर्न आग्रह गरे । सांसद कुलभक्त शाक्यले काठमाडौंमा अव्यवस्थित पार्किङ र अतिक्रमण रोक्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद कृपाराम रानाले दैजी–छेला औद्योगिक क्षेत्र निर्माण तीव्र बनाउन आग्रह गरे । सांसद कृष्णहरि बुढाथोकीले शिक्षा र स्वास्थ्य क्षेत्रमा साप्ताहिक बिदा पुनर्विचार गर्न सुझाव दिए ।
सांसद केपी खनालले तराईमा गर्मीले स्वास्थ्यमा असर पारेको भन्दै सरकारलाई सचेत हुन आग्रह गरे । सांसद क्रान्तिशिखा धितालले शिक्षकको सेवा सुविधा सुधार गर्न माग गरिन् ।
सांसद खगेन्द्र कर्णले कोशी टप्पु आरक्षका जनावरबाट स्थानीय नागरिक पीडित भएको बताए । सांसद खगेन्द्र सुनारले गर्मीका कारण तराईका नागरिकको जीवन कठिन भएको भन्दै विद्युत आपूर्ति नियमित गर्न माग गरे ।
सांसद खडकबहादुर बुढाले नलगाढ जलविद्युत, भेरी कोरिडोर र मध्यपहाडी लोकमार्गमा बजेट बढाउन आग्रह गरे । सांसद खड्का शाहीले सम्पत्ति छानबिन आयोगलाई प्रभावकारी बनाउन सुझाव दिए ।
सांसद खिमा विकले सुरक्षाकर्मीको मनोबल बढाउन विशेष व्यवस्था गर्न माग गरिन् । सांसद खुश्बु ओलीले झापामा बायोग्यास परियोजना अलपत्र परेको भन्दै छानबिन माग गरिन् ।
सांसद खेमराज कोइरालाले कैलालीमा पहिरो पीडितलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्न आग्रह गरे । सांसद गजाला शमीम मिकरानीले गैरसरकारी संस्थाको कार्यप्रणाली पारदर्शी बनाउन माग गरिन् ।
सांसद गणेश कार्कीले जग्गा सम्बन्धी गलत अभिलेख कायम गर्नेहरूलाई कारबाही गर्न माग गरे । सांसद गणेश पराजुलीले सांस्कृतिक जात्रालाई विश्वस्तरमा प्रवर्द्धन गर्न आग्रह गरे ।
सांसद गणेश पौडेलले रौतहटमा निःशुल्क औषधिको अभाव समाधान गर्न माग गरे । सांसद गणेशबहादुर विश्वकर्माले गरिब नागरिकलाई सहुलियत स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गरे ।
सांसद गणेशसिंह ठगुन्नाले राहत शिक्षकलाई विशेष भत्ता दिन माग गरे । सांसद गीता गुरुङले शक्तिपृथकीकरणको सिद्धान्त पालना गर्न सरकारलाई आग्रह गरिन् ।
सांसद गीताकुमारी सेन्दाङले मेडिकल प्रतिनिधिलाई अस्पताल प्रवेशमा रोक लगाउने निर्णय फिर्ता लिन माग गरिन् । सांसद गोपाल शर्माले रुकुम पश्चिममा खानेपानी समस्या समाधान गर्न आग्रह गरे ।
सांसद गङ्गा छन्त्यालले महिला, दलित, आदिवासी तथा अपाङ्गता भएका महिलामाथि हुने विभेद अन्त्य गर्न माग गरिन् । सांसद गङ्गादेवी श्रेष्ठले अस्थायी शिक्षकलाई सामाजिक सुरक्षा दायरामा ल्याउन माग गरिन् ।
सांसद गङ्गालक्ष्मी अवालले भक्तपुरको नवदुर्गा नाच संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
