Nepal Purbadhar

मध्यपूर्व तनाव कम, अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो, भारतमा बढ्दा नेपालमा असर

सांकेतिक तस्बीर।


काठमाडौं । अमेरिका र इरानबीच शान्ति वार्ता अघि बढ्ने सम्भावना देखिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सोमबार करिब पाँच प्रतिशतले घटेको छ । मध्यपूर्व क्षेत्रमा जारी तनाव कम हुने र तेल आपूर्तिमा सहजता आउने अपेक्षाले बजारमा बिक्री दबाब बढ्दा मूल्यमा तीव्र गिरावट आएको हो ।

जुलाई डेलिभरीका लागि पश्चिम टेक्सास मध्यवर्ती कच्चा तेलको मूल्य एक समय प्रति ब्यारेल ५.३५ अमेरिकी डलरले घटेर ९१.२५ अमेरिकी डलरमा पुगेको थियो । त्यस्तै ब्रेन्ट कच्चा तेलको मूल्य पनि ५.५७ अमेरिकी डलरले घटेर ९७.९७ अमेरिकी डलर प्रति ब्यारेलमा झरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति सम्झौता धेरै हदसम्म टुंगिएको भए पनि अन्तिम सहमतिका लागि थप छलफल आवश्यक रहेको बताएका छन् । प्रस्तावित योजनामा ६० दिनको युद्धविराम विस्तार, हर्मुज जलडमरूमध्य पुनः सञ्चालन, इरानलाई पुनः तेल निर्यात गर्न दिने तथा आणविक कार्यक्रमबारे वार्ता गर्ने विषय समावेश छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले हर्मुज जलडमरूमध्य पुनः खोल्ने कदम अघि बढाए अमेरिका गम्भीर वार्ताका लागि तयार रहेको बताएका छन् । यसैबीच इरानको इस्लामिक क्रान्तिकारी गार्डले पछिल्लो २४ घण्टामा ३३ वटा जहाज हर्मुज जलडमरूमध्य पार गरेको जनाएको छ ।

ऊर्जा विश्लेषकहरूले युद्धअघि जस्तो आपूर्ति अवस्था तत्काल सामान्य नहुने बताएका छन् । उत्पादन संरचनामा क्षति, उत्पादन अवरोध तथा ढुवानी समस्या अझै पूर्ण रूपमा समाधान नभएकाले तेल बजारमा असन्तुलन कायम रहने उनीहरूको भनाइ छ ।

यता, मध्यपूर्व तनावकै कारण भारतमा पेट्रोल र डिजेलको मूल्य पुनः बढाइएको छ । पछिल्लो १० दिनमा चौथोपटक गरिएको मूल्यवृद्धिको असर भारतसँग निर्भर नेपालमा पनि पर्ने देखिएको छ । भारतले आफ्नो कच्चा तेलको ठूलो हिस्सा हर्मुज क्षेत्र हुँदै आयात गर्ने भएकाले त्यहाँको तनावले प्रत्यक्ष प्रभाव पारेको हो ।

भारतले आपूर्ति जोखिम कम गर्न रूसबाट तेल आयात बढाइरहेको छ । भारतीय अधिकारीहरूले तेल कम्पनीहरू ठूलो आर्थिक दबाबमा रहेको बताएका छन् । मध्यपूर्व तनावका कारण अन्तर्राष्ट्रिय ऊर्जा बजार अझै अस्थिर बनेको विश्लेषण गरिएको छ ।


Read Previous

१२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण प्रक्रिया अगाडि बढ्यो, जग्गा अधिग्रहण शुरू

Read Next

अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सम्झौता आजै हुन सक्ने रुबियोको सङ्केत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar