
काठमाडौं । अमेरिका र इरानबीच जारी वार्ता अन्तिम चरणमा पुगेको जनाइएको छ । अमेरिकी प्रशासनले दुवै पक्षबीच सकारात्मक प्रगति भइरहेको बताउँदै केही दिनभित्र औपचारिक सम्झौता हुन सक्ने संकेत दिएको छ ।
आइतबार सार्वजनिक एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टअनुसार सम्भावित सम्झौताले इरानको नेतृत्व तहबाट औपचारिक स्वीकृति लिन बाँकी रहेकाले अन्तिम निर्णय आउन केही समय लाग्न सक्ने बताइएको छ । अमेरिकी अधिकारीहरूका अनुसार वार्ता सहमतिनजिक पुगेको भए पनि सबै प्रक्रिया पूरा भएपछि मात्रै औपचारिक घोषणा गरिनेछ ।
सम्झौताले क्षेत्रीय शान्ति स्थापना, समुद्री मार्गको सुरक्षा तथा इरानको आणविक कार्यक्रमसम्बन्धी अन्तर्राष्ट्रिय चासो सम्बोधन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यद्यपि, दुवै पक्षबीच भएका विस्तृत सहमति सार्वजनिक गरिएको छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना वार्ताकारहरूलाई हतार नगरी सावधानीपूर्वक निर्णय लिन निर्देशन दिएका छन् । उनले दुवै पक्षले पर्याप्त छलफल र तयारीपछि मात्रै अन्तिम निष्कर्षमा पुग्नुपर्ने बताएका छन् । साथै, अमेरिकाले इरानका बन्दरगाहमाथि लगाएको नाकाबन्दी सम्झौता औपचारिक रूपमा स्वीकृत, प्रमाणित र हस्ताक्षर नभएसम्म कायम रहने स्पष्ट पारेको छ ।
यसबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँगको सम्भावित सम्झौता सोमबार नै हुन सक्ने संकेत दिएका छन् । भारत भ्रमणका क्रममा नयाँदिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै उनले वार्ताबाट सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे ।
उनका अनुसार अमेरिकी पक्षले आइतबार रातिसम्म प्रगति हुने अपेक्षा गरेको थियो । “हामीले हिजो रातिसम्म केही समाचार आउला भन्ने सोचेका थियौँ, सायद आज पनि आउन सक्छ,” रुबियोले भने ।
रुबियोले वार्ताको मुख्य केन्द्र समुद्री मार्गको सुरक्षा र सञ्चालन रहेको उल्लेख गरे । उनले खाडी क्षेत्रका धेरै मुलुकले प्रस्तावित पहललाई समर्थन गरेको दाबी गर्दै यसलाई क्षेत्रीय स्थायित्वका लागि महत्वपूर्ण कदमका रूपमा व्याख्या गरे ।
उनका अनुसार इरान आणविक कार्यक्रमसम्बन्धी गम्भीर र निश्चित समयसीमाभित्र हुने वार्तामा सहभागी हुने सम्भावना पनि बलियो देखिएको छ ।
रुबियोको अभिव्यक्ति राष्ट्रपति ट्रम्पले वार्ताकारहरूलाई ‘हतार नगर्न’ निर्देशन दिएपछि आएको हो । ट्रम्पले कमजोर वा असन्तुलित सम्झौता स्वीकार नगर्ने स्पष्ट सन्देश दिएको रुबियोले बताए ।
“राष्ट्रपति कुनै पनि हालतमा नराम्रो सम्झौतामा सहमत हुनुहुन्न,” रुबियोले भने, “उहाँ हतारमा हुनुहुन्न र अमेरिकाको हितविपरीत हुने सहमति स्वीकार गर्नुहुने छैन ।”
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वमा तनाव चुलिएको थियो । त्यसपछि इरानले विभिन्न क्षेत्रमा मिसाइल तथा ड्रोन आक्रमण गरेको थियो । त्यसयता वासिङ्टन र तेहरानबीच अप्रिल ८ देखि युद्धविराम कायम रहेको जनाइएको छ ।
क्षेत्रीय सुरक्षाबारे बोल्दै रुबियोले इजरायललाई आफ्नो सुरक्षा सुनिश्चित गर्ने अधिकार रहेको बताए । उनका अनुसार हिजबुल्लाहबाट सम्भावित आक्रमणको खतरा देखिए इजरायलले प्रतिकार गर्ने वा आक्रमण रोक्ने कदम चाल्न सक्छ ।
“इजरायललाई सधैँ आफ्नो रक्षा गर्ने अधिकार छ,” रुबियोले भने, “यदि हिजबुल्लाहले क्षेप्यास्त्र प्रहार गर्ने तयारी गरिरहेको छ भने त्यसलाई रोक्ने अधिकार इजरायलसँग रहन्छ ।”

