
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जनगुनासोको तत्काल सुनुवाइ र समाधानलाई मन्त्रालयको मुख्य प्राथमिकतामा राखेका छन् । मन्त्री श्रेष्ठको निर्देशनपछि मातहतका निकायलाई सेवा प्रवाहमा थप जिम्मेवार बनाउँदै गुनासो व्यवस्थापन प्रणालीलाई छिटो, प्रभावकारी र परिणाममुखी बनाइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले विद्युत् सेवासम्बन्धी हटलाइन नम्बर ११५१ लाई २४सै घण्टा सञ्चालनमा राख्दै सेवाग्राहीका समस्या तत्काल समाधान गर्ने व्यवस्था सुदृढ गरेको छ । मन्त्रालयका अनुसार जेठको पहिलो सातामात्र हटलाइनमार्फत प्राप्त एक हजार ८३ ओटा गुनासोको शतप्रतिशत फर्छ्योट गरिएको छ ।
प्राप्त गुनासामध्ये भूमिगत केबलसम्बन्धी ७५, नो लाइटका ११६, खम्बा नपाएको १९, ट्रान्सफर्मरसँग सम्बन्धित ६, मिटर नपाएको पाँच तथा इभी चार्जिङसम्बन्धी तीन ओटा समस्या प्रमुख रहेका छन् ।
मन्त्रालयले संसद्को शून्य समयमा उठाइने प्रश्न तथा ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रसँग सम्बन्धित माग, प्रश्न र गुनासोलाई पनि तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।
मन्त्रालयका अनुसार चैत १५ देखि ३० गतेसम्म फोनमार्फत चार हजार २४८, ह्वाट्सएपमार्फत १४, इमेलमार्फत दुई र हेलो सरकारमार्फत पाँच गरी कुल चार हजार २६९ गुनासा प्राप्त भएका थिए ।
त्यस्तै, वैशाख महिनाभर फोनमार्फत ६ हजार २६, ह्वाट्सएपबाट ९२ र इमेलमार्फत १० ओटा गुनासो दर्ता भएका थिए । मन्त्री श्रेष्ठले कार्यभार सम्हालेयता कुल ११ हजार ५७५ गुनासा प्राप्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार लिखित निवेदन तथा सञ्चारमाध्यममा आएका विषयलाई समेत सचिवालयले निगरानीमा राख्दै समाधान प्रक्रिया अघि बढाइरहेको छ ।
