
काठमाडौं। निर्माण सम्पन्न भएसँगै काठमाडौं चक्रपथअन्तर्गत नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको सडकखण्ड अहिले व्यवस्थित र आकर्षक बनेको छ । करिब ७०० मिटर लामो उक्त खण्डमा सडक विस्तारको काम सकिएसँगै लेन मार्किङ, जेब्रा क्रसिङ तथा अन्य सडक रेखांकनसमेत पूरा गरिएको छ । नयाँ कालोपत्रे गरिएको चिल्लो सडक, स्पष्ट लेन र व्यवस्थित संरचनाले यस क्षेत्रको स्वरूप फेरिएको देखिन्छ ।
महाराजगञ्जदेखि धोबीखोला (गोपीकृष्ण)सम्म सडक विस्तार गर्ने योजनाअन्तर्गत यो खण्ड निर्माण गरिएको हो । चक्रपथ विस्तारको दोस्रो चरणमा चीनले कलंकीदेखि बसुन्धारासम्म मात्रै सडक निर्माण गर्ने भएपछि बीचको नारायणगोपाल चोक–चप्पल कारखाना खण्ड नेपाल सरकारले आफ्नै बजेटमा विस्तार गरेको हो ।
डिभिजन सडक कार्यालय, मीनभवनले २०८१ फागुनमा एम–एस अम्बुजा–काली एसके जेभीसँग २०८२ असारभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो । तर निर्माण कार्य तोकिएको समयभन्दा झन्डै एक वर्ष ढिला गरी सम्पन्न भएको हो । चालु आर्थिक वर्षमा यस सडकखण्डका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
निर्माण सम्पन्न भएको सडकखण्ड चक्रपथको कलंकी–कोटेश्वर सडकखण्डकै मापदण्डअनुसार विस्तार गरिएको जनाइएको छ । उक्त १०.३९ किलोमिटर सडकखण्ड चीन सरकारको सहयोगमा विस्तार गरी २०७५ माघमा नेपाललाई हस्तान्तरण गरिएको थियो । दोस्रो चरणअन्तर्गत कलंकीदेखि बसुन्धारासम्म विस्तार गर्ने विषयमा नेपाल–चीनबीच समझदारी भए पनि निर्माण प्रक्रिया अझै पूर्ण रूपमा अघि बढ्न सकेको छैन ।
हाल चक्रपथ विस्तार आयोजनाअन्तर्गत विभिन्न खण्डमा क्रमिक रूपमा काम भइरहेको छ । काठमाडौं उपत्यकाको बढ्दो सवारी चाप व्यवस्थापन गर्ने लक्ष्यसहित सरकारले चक्रपथलाई आधुनिक र फराकिलो बनाउने योजना अघि बढाइरहेको छ । नारायणगोपाल चोक–चप्पल कारखाना सडकखण्ड सम्पन्न भएसँगै महाराजगञ्ज क्षेत्रको ट्राफिक व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ ।
तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी












