Nepal Purbadhar

पर्यटकको नयाँ गन्तव्य बन्दै भच्चेक


काठमाडौं । भच्चेक कोलाहलपूर्ण शहरी वातावरणबाट केही समय टाढा भएर शान्त र प्राकृतिक सौन्दर्यको अनुभव लिन चाहने आन्तरिक पर्यटकहरूको नयाँ रोजाइ बन्दै गएको छ। काठमाडौंबाट करिब १ सय ६३ किलोमिटर दूरीमा रहेको भच्चेक समुद्री सतहबाट करिब १ हजार ७ सय ५० मिटर उचाइमा अवस्थित छ। यहाँको चिसो हावापानी, हरियाली डाँडाकाँडा र वरिपरि देखिने हिमशृंखलाले पुग्ने जो–कोहीलाई आनन्दित बनाउने गर्छ।

पक्की सडक सञ्जालले जोडिएकाले पछिल्लो समय भच्चेक पुग्ने पर्यटकको संख्या बढ्दै गएको स्थानीय बताउँछन्। गोरखा सदरमुकामबाट बाह्रकिलो हुँदै साना सवारीसाधनमार्फत सहजै भच्चेक पुग्न सकिन्छ। बाह्रकिलोबाट करिब ४५ किलोमिटर दूरी पार गरेपछि भच्चेक पुगिन्छ। यस्तै, पालुङटार हुँदै कालोपत्रे सडकमार्फत पनि त्यहाँ पुग्न सकिने व्यवस्था छ।

उच्च पहाडी क्षेत्रमा अवस्थित भच्चेकबाट गोरखा र लमजुङका फाँट तथा बस्तीहरूको आकर्षक दृश्य अवलोकन गर्न सकिन्छ। मौसम सफा भएका बेला गणेश हिमाल, अन्नपूर्ण हिमाल लगायत विभिन्न हिमशृंखला नजिकैबाट देख्न सकिन्छ। चिसो मौसम र शान्त वातावरणका कारण पनि यो क्षेत्र आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको हो।

भच्चेक आसपास गुरुङ, तामाङ, ब्राह्मण र क्षेत्री समुदायको बसोबास रहेको छ। यहाँ पुग्ने पर्यटकले विभिन्न जातीय संस्कृति, परम्परा र स्थानीय जीवनशैली नजिकबाट अवलोकन गर्न सक्छन्। भच्चेक बजारबाट करिब १५ मिनेट दूरीमा रहेको नम्की गाउँ मा पर्यटकका लागि घरबास (होमस्टे) को सुविधा समेत उपलब्ध छ।

विशेषगरी तामाङ समुदायको बाहुल्यता रहेको नम्की गाउँमा स्थानीय परिकार, सांस्कृतिक नाचगान तथा पाहुनाका लागि मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिन्छ। अजिरकोट गाउँपालिका मा गण्डकी प्रदेश सरकार र स्थानीयवासीको सहकार्यमा होमस्टे सञ्चालन गरिएको छ। हाल १० घरधुरीमा २० देखि ४० जनासम्म पाहुना राख्न सकिने क्षमता रहेको बताइएको छ।

भच्चेक क्षेत्रबाट ऐतिहासिक चेपे नदी, धार्मिक तथा पर्यटकीय महत्व बोकेको दूधपोखरी, नागे पोखरी र निम्चे पोखरी सम्म पदयात्रा गर्न सकिने भएकाले पनि यो क्षेत्र पर्यटकीय दृष्टिले थप आकर्षक मानिन्छ।


Read Previous

ऊर्जा मन्त्रालयको ‘क्लिन स्वीप’ तयारी : सबै कम्पनीका सीईओ र बोर्ड सदस्य हटाइँदै

Read Next

विदेशस्थित १५ नेपाली अवैतनिक कन्सुल पदमुक्त गर्ने सरकारको निर्णय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar